close

झापाको अर्जुनधारा नगरपालिका अनिश्चित कालका लागि बन्द

झापाको अर्जुनधारा नगरपालिका अनिश्चित कालका लागि बन्द

Trulli
ADVERTISEMENT

झापा - कोरोना संक्रमण फैलिएसँगै झापाको अर्जुनधारा नगरपालिका बन्द गरिएको छ । एकै घरमा ६ जना र १ अस्पतालमा ९ गरी एकै दिन १५ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिका र सबै वडा कार्यालय अनिश्चित कालका लागि बन्द गरिएको हो ।

 

संक्रमण दैनिक बढ्न थालेपछि संकट निम्तिन सक्ने भन्दै अत्यावश्यक सेवाबाहेक नगर र वडाबाट हुने सबै काम बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । अत्यावश्यक स्वास्थ्य, सुरक्षा, फोहोर व्यवस्थापन, खानेपानी, विद्युत्लगायत सेवा भने सुचारु रहनेछन् ।


अर्जुनधारा नगरपालिका वडा-६ मा एकै परिवारका ६ जना र अर्जुनधारा-७ स्थित शंकर अस्पतालमा स्वास्थ्यकर्मी, बिरामी र कुरुवा गरी ९ जनामा संक्रमण पुष्टि भएपछि कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठकले अनिश्चितकालका लागि अत्यावश्यक सेवाबाहेक कार्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाका कोरोना फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए । 


यसैगरी शंकर अस्पताललाई पनि ३ दिनसम्म बन्द गर्न निर्देशन दिने निर्णय बैठकले निर्णय गरेको छ । ३ दिनपछि अस्पताललाई पूरै डिस्इन्फेक्टेड गराएपछि अवस्था हेरेर सञ्चालन गर्न निर्देशन दिइने नगरपालिकाले बताएको छ । 

 

‘कोरोना संक्रमितसँग नजिकको सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङ सहज तुल्याउन कार्यालय बन्द गर्नु परेको हो’, बस्नेतले भने । नगरबाट भइरहेको राष्ट्रिय परिचयपत्र वितरणको काम पनि अर्को सूचना नआउन्जेल बन्द भएको नगरपालिकाले जनाएको छ ।


बैठकले कोरोना भाइरस संक्रमणसम्बन्धी जनचेतनामूलक माइकिङ गर्ने निर्णय पनि गरेको छ । चाडपर्व नजिकिएकाले यस समयमा गरिने विभिन्न पूजाआजामा पनि सतर्कता अपनाइने निर्णय भएको छ ।


बैठकको निर्णयअनुसार विभिन्न शक्तिपीठमा औपचारिक पूजामात्र गर्न दिइनेछ भने चोक-बजारमा गरिने सबै किसिमका पूजाआजामा रोक लगाइएको छ । हालसम्म अर्जुनधाराका ३२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।