close

आफ्नै प्रशासकीय भवन बनाउँदै ताप्लेजुङका ३ पालिका

आफ्नै प्रशासकीय भवन बनाउँदै ताप्लेजुङका ३ पालिका

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - भाडाका घरलाई छाड्दै आफ्नै भवनबाट सेवा दिने उद्दघेश्यले ताप्लेजुङको फुङ्लिङ नगरपालिका र मेरिङ्देन तथा पाथीभरा याङ्वरक गाउँपालिकाले आफ्नै प्रशासकीय भवनको निर्माण कार्य थालेका छन् । 


फुङ्लिङ नगरपालिकाले सुरुमा कार्यालय भवन निर्माण गर्न थालेको नगरको कार्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मेरिङ्देन गाउँपालिकाको प्रशासकीय भवन गाउँपालिकाको केन्द्र (मुकाम) सान्थाक्राको सुलुम्फीमा बन्न सुरु भएको हो । 


यहाँका नौ स्थानीय तहमध्ये आफ्नो कार्यालय भवन निर्माण गर्न सुरु गर्नेमा मेरिङ्देन गाउँपालिका तेस्रो बनेको छ । त्यस्तै, पाथीभरा याङ्वरक गाउँपालिकाले पनि प्रशासकीय भवन निर्माण कार्य सुरु गरिसकेको छ । चालू आर्थिक वर्षदेखि निर्माण सुरु गरिएको मेरिङ्देन गाउँपालिकाको प्रशासकीय भवनको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले शिलान्यास गरेका छन् । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार बोलपत्र आह्वानमार्फत मालिका देवी÷हिमालयन जेभी कम्पनीलाई भवन निर्माणको जिम्मा दिइएको छ । भवनको कूल लागत छ करोड ६३ लाख ९७ हजार ८२० रुपैयाँमध्ये पाँच करोड छ लाख १९ हजार ९८८ रुपैयाँमा मालिका देवी-हिमालयन जेभीले ठेक्का पारेको उनले जानकारी दिए । 


उता, पाथीभरा याङ्वरक गाउँपालिकाले लिफ्टसहितको सुविधा सम्पन्न प्रशासनिक भवनको निर्माण कार्य सुरु गरेको छ । तत्काललाई दुई तल्ले १६ कोठे भवन तीन करोड ८१ लाख रुपैयाँको लागतमा अबको १५ महिनामा सम्पन्न हुने गरी सुरुवात गरिएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिए । 


योजनाको लागत इस्टिमेट भने करिव चार करोड ५० लाख रुपैयाँको थियो । गाउँपालिका अध्यक्ष सुब्बाले भवन निर्माण कार्यको शिलान्यास गरेका छन् । अहिले रहेको प्रशासनिक केन्द्रभन्दा करिव १० मिनेट माथि अहिले स्वास्थ्य केन्द्र रहेको भवन छेउ पाथीभरा याङ्वरक गाउँपालिकाको नयाँ प्रशासनिक भवन बन्ने भएको छ । 


एक नगरपालिकासहित ताप्लेजुङका सबै नौ स्थानीय तह अहिलेसम्म भाडाका भवनमा बस्दै आएका छन् । फुङ्लिङ नगरपालिकाको भवन वडा नंं ७ मा निर्माणाधीन अवस्थामा रहेको छ । नगरपालिका पछि भवन निर्माण कार्य सुरु गर्ने पाथीभरा याङ्वरक गाउँपालिका पहिलो र मेरिङ्देन दोस्रो भएका छन् ।