close

धार्मिकस्थल जोड्ने सडकमा समपूरक अनुदान

धार्मिकस्थल जोड्ने सडकमा समपूरक अनुदान

Trulli
ADVERTISEMENT

बागलुङ - संघीय सरकारले उपलब्ध गराउने समपूरक अनुदान बागलुङका स्थानीय तहले तीर्थस्थल जाने सडकहरूमा केन्द्रित गरेका छन् । बागलुङ र जैमिनी नगरपालिकाले समपूरक अनुदानबापत उपलब्ध हुने बजेट धार्मिक मठमन्दिरमा पुग्ने सडकमा खर्च गर्न लागेका हुन् ।


सडकको स्तारोन्नति र कालोपत्रे गर्ने काम ठेक्का प्रक्रियाबाट अघि बढेका छन् । बागलुङ बजारबाट भैरवस्थान मन्दिरमा जाने सडकमा झण्डै आठ करोड ७२ लाख रुपैयाँ खर्च हुँदै छ । गत वर्ष समपूरक अनुदानकै बजेटले स्तरोन्नति भएको उक्त सडकको चालू वर्षको अन्त्यसम्ममा ३.१ किलोमिटर कालोपत्रे गर्ने काम सुरु भएको नगरपालिकाले जनाएको छ ।


जैमिनीको कुस्मीशेरा बजारबाट जैमिनीधाम जाने सडकको ग्राभेलका लागि समपूरक अनुदान नै लगानी गरिनेछ । झण्डै दुई किलोमिटर सडक ग्राभेलका लागि ६८ लाख रुपैयाँ नगरले खर्चिनेछ । गत वर्ष पनि तारजाली र सडक फराकिलो बनाउन समपूरक अनुदान उपयोग गरेर काम भएको थियो ।


दुवै योजनाका लागि संघीय सरकारको ६०/४० सहभागितात्मक कार्यक्रम लागू हुनेछ । बागलुङ नगरपालिकाले भने समपूरक अनुदानमा गर्नुपर्ने साझेदारीलाई ५०/५० प्रतिशत बनाएर यो सडक कालोपत्रे गर्न लागेको हो । 


जिल्लाको बरेङ गाउँपालिकाले भने अन्तरवडा जोड्ने सडक संजालमा प्रदेश सरकारको समपूरक अनुदान खर्च गर्दै छ । बाटाकाचौर-सल्यान-सुखौरा सडक र बरेङ-पेरिबाङ सडकमा उक्त अनुदान खर्च हुने गाउँपालिकाले जनाएको छ । दुवै सडकको स्तरोन्नतिका लागि प्रदेश सरकार र गाउँपालिकाको गरी दुई करोड रुपैयाँ खर्च हुनेछ ।


बरेङले प्रदेश सरकारकै सशर्त अनुदान धार्मिकस्थल जाने सडकमा खर्च गर्नेछ । नयाँ बजार हुँदै साग्दी सत्यावती मन्दिर जाने सडकको स्तरोन्नतिका लागि ४० लाख रुपैयाँ खर्च हुने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

 

धार्मिकस्थललाई पर्यटनसँग जोड्ने भन्दै स्थानीय तहले सडकमा लगानी बढाएका हुन् । ‘धार्मिक पर्यटकका लागि सहज हुने र हाम्रा गाउँहरू जोडिने गरी सडक निर्माण हुँदै छन्’, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने, ‘समुदायको मागअनुसारकै संरचना नजिकको सरकारले बनाउनुपर्ने हुन्छ ।’ 


जैमिनी नगरपालिकाले पनि जैमिनीधाम जाने सडकको स्तरोन्नति गर्दा नगरका अधिकांश वडालाई सहज हुने दाबी गरेको छ । ‘जैमिनीधाममा धेरैका घाट छन्, मलामी जानेदेखि कालीगण्डकी कोरिडोरलाई पालिका मुकामसँग जोड्ने सडक यही हो’, नगरप्रमुख इन्द्रराज पौडेलले भने, ‘पर्यटन, व्यापार र उद्यम सबैका लागि सडक उपयोगी हुन्छ ।’


मठमन्दिर, चैत्य र गुम्बाहरूको निर्माणमा यहाँका स्थानीय सरकारले बर्सेनि ठूलो रकम खर्च गर्ने गरेका छन् । ढोरपाटन नगरपालिकाले ढोरबराह जोड्ने सडकमा लगानी गरेको छ भने गलकोट नगरपालिकाले सिद्धभैरव पुग्ने सडकमा लगानी गरेको छ ।