close

पाटनमा २५ वर्षपछि नियमित उड्यो ‘चिलगाडी’

पाटनमा २५ वर्षपछि नियमित उड्यो ‘चिलगाडी’

Trulli
ADVERTISEMENT

बैतडी - बैतडीको पाटन विमानस्थलबाट २५ वर्षपछि हवाई उडान पुनः सुरु भएको छ । धनगढीलाई बेस बनाएर शुक्रबारदेखि हवाई उडान सुरु भएको हो । 


२०५२ सालदेखि बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थल पाटनमा अबदेखि नियमित उडान हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।
    

समिट एयरले हप्ताको एक दिन उडान भर्ने गरी नियमित रूपमा धनगढी-बैतडी-धनगढी सेवा दिने भएको हो । पहिलो दिन धनगढीबाट १८ यात्रु बैतडी आएका छन् भने बैतडीबाट सात यात्रु लिएर विमान धनगढी फर्किएको छ । पहिलो दिन शुक्रबार हवाई उडान गरिएको भए पनि अबदेखि बैतडीमा हप्तामा एक दिन हरेक मंगलबार नियमित उडान हुने समिट एयरका सुदूरपश्चिम म्यानेजर सरोज उप्रेतीले जानकारी दिए ।
    

धनगढीबाट हरेक मंगलबार बिहान १० बजे बैतडीका लागि विमान उड्ने बताइएको छ ।  धनगढीबाट बैतडीको भाडा तीन हजार ८०० रुपैयाँ तोकिएको छ । 


पहिलो दिन धनगढीबाट विमानमार्फत बैतडी आएका पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले नियमित उडानले खुसी लागेको बताए । पाटन विमानस्थल पुनः संचालनमा आएपछि यहाँका बासिन्दामा उत्साह थपिएको निर्माण व्यवसायी चमन भण्डारीले बताए  । 
  

यसअघि गत १७ असोजमा पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो । परीक्षण उडानसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहितको टोलीले विमानस्थलको निरीक्षणसमेत गरेको थियो । 
  

पाटनमा विमानस्थल नियमित संचालन हुने भएपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धन  हुने पाटन नगरपालिकाका प्रमुख केशबबहादुर चन्दले बताए । उनले भने, ‘विमान नियमित संचालन हुने भइसकेको छ । अब हामी, हाम्रो नगरपालिका पर्यटकीय क्षेत्रहरूको संरक्षणमा जुट्नेछौँ ।’


यहाँ रहेका पर्यटनको प्रचुर सम्भावना बोकेका धार्मिक स्थलहरूले स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उनको भनाइ छ । अब त्यसतर्फ ध्यान केन्द्रित गर्ने उनले बताए । 


विगतमा कच्ची धावनमार्गमै विमानस्थल संचालनमा थियो भने २०५२ सालमा मोटर पुगेकाले यात्रु घटेको भन्दै तत्कालीन शाही नेपाल वायु सेवा निगमले उडान रोक्का गरेको थियो । अहिले पनि यात्रु प्रतीक्षालय, विमानस्थल कार्यालयलगायतका संरचना निर्माण गर्न बाँकी रहेकाले केही समयपछि सबै संरचना तयार हुने बताइएको छ ।