close

नदीको पानी लिफ्ट गर्न हलेसी तुवाचुङमा विद्युतीकरण गरिँदै 

नदीको पानी लिफ्ट गर्न हलेसी तुवाचुङमा विद्युतीकरण गरिँदै 

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको कोसी करिडोर क्षेत्रमा सिँचाइ गर्ने पानी लिफ्ट गर्नका लागि विद्युतीकरणको तयारी गरिएको छ । नगरपालिकाभित्रका दूधकोसी र सुनकोसी किनारमा रहेका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि आवश्यक पानी लिफ्ट गर्न हाइटेन्सन लाइन विस्तारको तयारी गरिएको हो । 


हलेसी तुवाचुङ नगरपालिका- २ डिकुवाबाट रातमाटे सुनकोसीसम्म, वडा- ३ च्यास्मीटारको पीपलटारबाट सुनकोसीसम्म, वडा- ४ बडहरेबाट घोपाटार दूधकोसीसम्म, वडा- ६ मंगलटारबाट भदौरे दूधकोसीसम्म, वडा- ९ सल्लेबाट हात्तीटार दूधकोसीसम्म, वडा- १० अर्खौलेको शिखरकटेरीबाट सुनकोसीसम्म, वडा- ११ राजापानीबाट भाटबेँसी सुनकोसीसम्म हाइटेन्सन लाइनका लागि विद्युतीकरण गर्न लागिएको हो । 


‘उज्यालो नगरपालिका अभियान’अन्तर्गत हाल हलेसी तुवाचुङ नगरपालिकाका सबै वडामा विद्युत विस्तारको काम भइरहे पनि शाखा लाइनबाट लिफ्टिङ गर्ने उपकरण नचल्ने भएकाले हाइटेन्सन लाइन विस्तारका लागि विद्युतीकरणको तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । 


जीविकोपार्जनको आधार तयार गर्ने लक्ष्यका साथ सिँचाइ सुविधा प्रयोजनका लागि विद्युतीकरणका काम गर्न नेपाल विद्युत प्राधिकरणले पहिलो चरणमा दुई करोड २४ लाख ६० हजार ५२२ रुपैयाँ (भ्याटसहित) बजेट स्वीकृत गरेको छ । प्राधिकरणले २८ असोजमा हाइटेन्सन लाइन विस्तार, पोल तथा ट्रान्सफर्मर जडानका लागि एक करोड ८९ लाख ४२ हजार ३०६ रुपैयाँ तथा ज्यालातर्फ ३५ लाख १८ हजार २१६ रुपैयाँ बजेट स्वीकृत गरेको हो । 


शाखा लाइनबाट नदीको पानी तान्न सम्भव नहुने भएकाले खेतीयोग्य जमिन भएका कोसी कोरिडोरमा हाइटेन्सन लाइन विस्तार गर्ने र नदीको पानी गाउँमा तानेर सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको नगरप्रमुख राईले बताए । 


‘अहिले प्रायः सबै वडामा विद्युतीकरणको काम भइरहेको छ । वडाको केन्द्रसम्म हाइटेन्सन लाइन पुग्छ तर टोलटोलमा शाखा लाइन मात्र विस्तार गरिन्छ’, प्रमुख राईले भने, ‘तर, शाखा लाइनको विद्युतले नदीको पानी तान्ने मेसिन चलाउन सकिँदो रहेनछ । त्यही भएर नदी किनारका खेतीयोग्य जमिन भएका क्षेत्रमा हाइटेन्सन लाइन पुर्‍याएर पानी लिफ्टिङ गरेर सिँचाइ सुविधा पुर्‍याउने गरी काम थालिएको हो ।’ 


बजेट स्वीकृत भएसँगै कामका लागि टेन्डर प्रक्रियामा अघि बढिसकेको नगरपालिकाले जनाएको छ । 


कोसी कोरिडोरमा नदीको पानी तान्नका लागि विद्युतीकरणको काम गर्न नगरपालिकाले नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र दिक्तेलमार्फत २२ असोजमा प्रक्रिया अघि बढाएको थियो । सुख्खाग्रस्त क्षेत्रका रूपमा रहेको नगरपालिकाको बडहरेको घोपाटार, खोक्सेलीबेँसी, डिकुवाको रातमाटे, मंगलटारका महादेवबेँसी र टिम्मुरे, डिकुवाको डिकुवा, राजापानीको भाडबेँसीलगायतका कोसी कोरिडोरमा रहेका खेतीयोग्य जमिनमा नदीको पानी तानेर खेती गर्न सकिने सम्भावना छ । 


नगरपालिका र सिँचाइ डिभिजन कार्यालय खोटाङको सहकार्यमा राजापानीको भाटबेँसी, धितुङको धितुङ खानेपानी, डिकुवाको टारगाउँ, डिकुवा र बाइटार, बडहरेको घोपाटार तथा सल्लेको महादेवबेँसीमा चालू आर्थिक वर्षदेखि सानो क्षमताको लिफ्टिङ योजनाको काम अघि बढिसकेको अवस्थामा एचटी लाइनमार्फत संचालन हुने लिफ्टिङ योजना संचालनको तयारी गरिएको हो ।