close

वाणगंगा नगरकाे निर्णयः छाडा चौपाया व्यस्थापन गर्न ३० लाख, आइसोलेसन र मुटु रोगीका लागि २-२ लाख

वाणगंगा नगरकाे निर्णयः छाडा चौपाया व्यस्थापन गर्न ३० लाख, आइसोलेसन र मुटु रोगीका लागि २-२ लाख

Trulli
ADVERTISEMENT

रूपन्देही - वाणगंगा नगर कार्यपालिकाको बैठकले छाडा चौपायाको व्यवस्थापनका लागि ३० लाख रुपैयाँ बजेट छुट्याएको छ साथै बैठकले मधुवनधाममा गौशाला निर्माण गर्ने निर्णय गरेको छ ।


यस्तै, बैठकले कारागारमा रहेका कैदीबैन्दीलाई कारोना पुष्टि भएमा आइसोेलेसन व्यवस्थापन गर्नका लागि दुई लाख रुपैयाँ छुट्याइएको नगरपालिकाका प्रवक्ता विष्णुप्रसाद पौडेलले जानकारी दिए । यसैगरी नगरमा बसपार्कको सम्भाव्यता अध्ययन गर्न तीन सदस्यीय कार्यदल पनि गठन गरिएको छ ।


बैठकले नगरभित्रका मुटु रोगीहरूका लागि बुटवल मुटु अस्पतालसम्म पुर्‍याउन दुई लाख रुपैयाँ खर्च छुट्याइएको र यसका लागि बससमेत संचालन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।


बैठकमा घर जग्गाको नक्साङ्कन गर्ने कार्यलाई पुस मसान्तसम्म थप गर्ने निर्णय पनि गरिएको छ । लागत सहभागिताबाहेकका कालोपत्रे ठेक्का पट्टामार्फत गर्ने निर्णय पनि गरेको छ ।


बैठकले तीनवटा कार्यविधि संचालन गर्ने निर्णय गरेको छ । नगर प्रहरी व्यवस्थापन र संचालनसम्बन्धी कार्यविधि, २०७७, लैंगिक हिंसा निवारण कोष संचालनसम्बन्धी कार्यविधि, २०७७ र सहकारी संस्था कार्यविधि, २०७७ संचालन गर्ने निर्णय गरिएको नगरप्रवक्ता पौडेलले जानकारी दिए ।


यस्तै, दशैँ, तिहार, छठलगायतका चाडपर्वमा शान्ति सुरक्षा कायम गर्नका लागि जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय कार्यान्वयन गर्न सबैलाई नगरपालिकाले अनुरोध पनि गरेको छ ।