close

दिप्रुङ चुइचुम्माका ११ माविलाई स्तरोन्नति गरिँदै 

दिप्रुङ चुइचुम्माका ११ माविलाई स्तरोन्नति गरिँदै 

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ११ वटा प्रस्तावित माविलाई स्वीकृत माविमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । 

 

गाउँपालिकाले हालसम्म प्रस्तावित माविका रुपमा सञ्चालनमा रहेको शान्ति मावि छोरम्बु, सरस्वती मावि डाँडाखर्क सछितापोखरी, राम्चे निकेतन मावि इजारा बतासे, शान्ति निकेतन मीनाकर्ण मावि सापातेल छोरम्बु, शान्ति मावि टेम्मा, पञ्चौशिका मावि भण्डारेघाट बतासेलाई माविमा स्तरोन्नति गरिने भएको हो ।

 

यस्तै, महेन्द्रोदय मावि याम्खा, धिप्लुङ मावि सेम्मा छितापोखरी, जनसेवा मावि दिहुँ छितापोखरी, सरस्वती मावि कुलागाउँ सछितापोखरी र याङसोला मावि छोरम्बुलाई माविमा स्तरोन्नति गरेको हो ।

 

हालसम्म मावि तहको पठन-पाठन हुँदै आए पनि मावि शिक्षकको दरबन्दी नभएका प्रस्तावित विद्यालयलाई माविमा रुपान्तरण गर्ने निर्णय भएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

 

गत वर्ष पञ्चकौशिका आधारभूत विद्यालयलाई मावि तहको पठन–पाठनको स्वीकृति दिएको गाउँपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले एकैसाथ ११ प्रस्तावित माविलाई माविमा स्तरोन्नति गर्ने निर्णय गरेको हो । 

 

७ वडा रहेको गाउँपालिकामा हालसम्म महेन्द्रोदय मावि ओख्रे डाँडागाउँ, कृष्ण मावि टेम्मा र जनता मावि भण्डारीडाँडा बतासे मात्र स्थायी मावि थिए । ‘माविमा रुपान्तरण गरिएका विद्यालयमा स्थायी शिक्षकको दरबन्दी सिर्जना गरेर शिक्षक व्यवस्था गर्ने र दशैं‌-तिहारलगत्तै  पठन-पाठन सुरु गर्ने तयारी छ’, गाउँपालिका अध्यक्ष राईले भने ।

 

अपुग शिक्षकका लागि दरबन्दी सिर्जना गरेर शिक्षक नियुक्ति गरिने गाउँपालिकाले जनाएको छ । ‘प्रस्तावित माविमा मावि तहको पढाइ भइरहेको छ तर मावि तहको शिक्षक दरबन्दी छैन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘अब स्वीकृत माविमा मावि तहको दरबन्दीसहितको शिक्षक पठाइन्छ । अपुग भएको ठाउँमा गाउँपालिकाले दरबन्दी सिर्जना गरेर शिक्षक नियुक्त गर्नेछ ।’ 


उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा स्तरोन्नति 

 

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हालसम्म स्वास्थ्य चौकीमा स्तरोन्नति हुन बाँकी एक उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । 


नेपाल सरकारको नीतिअनुसार ०७२ साउनमा एकैसाथ खोटाङका ४९ मध्ये ४७ उपस्वास्थ्य चौकी स्तरोन्नति भए पनि उबेला नगरिएको उपस्वास्थ्य चौकी सप्तेश्वरछितापोखरीलाई गाउँपालिकाले स्वास्थ्य चौकीमा बढुवा गरेको हो । 

 

०७२ मा अन्य उपस्वास्थ्य चौकीसँग मिल्दोजुल्दो नाम भएपछि पुग्दा सप्तेश्वरछितापोखरी उपस्वास्थ्य चौकी र दिप्लुङ उपस्वास्थ्य चौकी स्तरोन्नति भएका थिएनन् । 

 

सेवा–सुविधा स्वास्थ्य चौकीको सरह प्रवाह भइरहे पनि २  उपस्वास्थ्य चौकीले हालसम्म कानुनी रुपमा स्वास्थ्य चौकीको मान्यता प्राप्त गर्न सकेका थिएनन् ।


स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सप्तेश्वरछितापोखरी उपस्वास्थ्य चौकीको नाम सप्तेश्वर स्वास्थ्य चौकीसँग र दिप्लुङ उपस्वास्थ्य चौकीको नाम दिप्सुङ उपस्वास्थ्य चौकीसँग मिल्न गएपछि भएको अस्पष्टताले २ उपस्वास्थ्य चौकीको स्तरोन्नतिमा असर पुगेको थियो ।