close

हलेसी तुवाचुङका वडावडामा महिला कृषि सहकारी

कृषिमा जुट्दै महिला

हलेसी तुवाचुङका वडावडामा महिला कृषि सहकारी

कृषिमा जुट्दै महिला

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारमा महिला कृषि सहकारी स्थापना गरिएको छ । नगरपालिकाको ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियानअन्तर्गत मंगलटारमा ५० महिलालाई समेटेर मंगलटार महिला कृषि सहकारी स्थापना गरिएको हो ।


महिला लक्षित कृषि सहकारी शुक्रबार हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले सहकारीमा आबद्ध महिलालाई बचतबुक हस्तान्तरण गर्दैै शुभारम्भ गरेकी छन् । कृषिजन्य उत्पादनको व्यवसायीकरण एवं बजारीकरण गर्दै गाउँका महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित वडामा महिला कृषि सहकारी स्थापना गरिएको हो । 

 

आयआर्जनका लागि मंगलटारका कृषि सहकारीमा आबद्ध महिलालाई बाख्रा, बंगुरलगायतका पशुपालनमा प्रोत्साहित गरिने वडाध्यक्ष रमेश राउतले बताए । सहकारीमा वडाका अन्य महिलालाई पनि क्रमशः समावेश गर्दै लगिने उनले जानकारी दिए ।


कृषि सहकारीमार्फत महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने नगरपालिकाको नीतिअनुसार आव ०७६/७७ देखि हरेक वडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइएको हो ।


तरकारी, फूल, सिन्के धुप, व्यापार व्यवसायलगायतका उद्यम सञ्चालन गर्न प्रोत्साहित गर्ने र उद्यमसम्बन्धी कामबाट आएको आम्दानीलाई बचत गर्दै महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन नगरपालिकाले वडा–वडामा महिला कृषि सहकारी स्थापनाको अवधारणा अघि सारेको हो ।


‘कृषि सहकारीको माध्यमबाट महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने तथा ऋणका लागि महँगो ब्याज असुल गर्ने विभिन्न वित्तीय संस्थालाई गुहार्नुपर्ने बाध्यताबाट मुक्ति दिलाउने लक्ष्य राखेका छौं’, नगर उपप्रमुख राईले भनिन् । 


नगरपालिकाका ११ वडामध्ये हालसम्म हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा मखमली बचत तथा ऋण सहकारी, हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा हलेसी महिला कृषि सहकारी स्थापना गरिसकिएको छ ।

 

हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका-४ बडहरे र हलेसी तुवाचुङ नगरपालिका-९ सल्लेको दूधकोसी महिला कृषि सहकारी भने स्थानीय तह कार्यान्वयनमा आउनुअघि नै महिला विकास कार्यालयको पहलमा स्थापना गरिएको हो । 


अन्य वडामा पनि क्रमशः महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइसकिएको छ । स्थानीय तह कार्यान्वयनमा आएपछि सबैभन्दा पहिला दुर्छिममा महिला कृषि सहकारी स्थापना गरिएको थियो ।

 

सहकारी स्थापनाका क्रममा आवश्यक परे नगरपालिकाबाट बिउ पुँजी पनि उपलब्ध गराउने व्यवस्था मिलाइएको नगर उपप्रमुख राईले जानकारी दिइन् । 

 

‘महिलालाई संगठित गर्दै व्यापार व्यवसायमा संलग्न गराउने र त्यसबाट आउने आम्दानीलाई बचत गर्दै उत्पादनमूलक ठाउँमा खर्चिने बानीको विकास गर्ने लक्ष्य हो,’ नगर उपप्रमुख राईले भनिन्, ‘यसबाट नगरपालिकाका महिला आर्थिक रुपमा आत्मनिर्भर बन्ने अपेक्षा छ ।’

 

‘एक सहकारी एक उत्पादन’ नीतिअन्तर्गत च्यास्मीटारका महिलालाई व्यापार व्यवसाय, बहडरेका महिलालाई सिन्के धुप उत्पादन, हलेसीका महिलालाई फूल, तरकारी र ढाका बुनाइ, सल्लेका महिलालाई तरकारी खेतीसम्बन्धी व्यवसायमा संलग्न गराउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

 

विभिन्न वडाका महिलाले उत्पादन गरेको थोकबस्तु बिक्री वितरणका लागि कोसेसी घर वा संकलन केन्द्र सञ्चालन गर्ने योजना बनाइएको नगर उपप्रमुख राई सुनाउँछिन् ।

 

व्यवसाय सञ्चालनका लागि महिलालाई सम्बन्धित व्यवसायका विषयमा सीपमूलक तालिमको व्यवस्था गरिएको छ । हलेसीमा स्थापना गरिएको हलेसी कृषि महिला सहकारी संस्थाले हालसम्म ९ लाख बचत गरिसकेको र ६ लाख लगानी गरिसकेको छ । 


१ सय ६५ महिला आबद्ध सो सहकारीले भवन निर्माणका लागि जग्गासमेत जुटाइसकेको जनाएको छ ।