close

मम्मेका आँगनमा कलकल पानी

मम्मेका आँगनमा कलकल पानी

Trulli
ADVERTISEMENT

डडेल्धुरा - अढाई घन्डा हिँडेरै सेती नदीको पानी बोकेर खानुपर्ने बाध्यतामा रहेका नवदुर्गा गाउँपालिका-४ मम्मे गाउँका स्थानीय अहिले घरआँगनमै पानीका धारा आएपछि दंग छन् । मम्मे गाउँमा सोलार प्रविधि जडान गरी खानेपानी पुर्‍याइएपछि स्थानीयको वर्षौंदेखिको पानी संकट पार लागेको हो । 


लामो समयदेखि खानेपानी अभाव झेल्दै आएका स्थानीयलाई आँगनमै पानीको धारा आउला भन्ने लागेको थिएन । गाउँमा पानी पुगेपछि अढाई घन्टा हिँडेर पानी बोक्नुपर्ने बाध्यता अन्त्य भएको छ । 


गाउँ नजिकैको पँधेरा सुकेपछि ३ वर्षयता मम्मे गाउँबासी सेती नदी र सकायल खोलाको पानि बोकेर उपभोग गर्न बाध्य थिए ।


गाउँमा सोलार प्रविधि जडान गरी खानेपानी पुर्‍याइएको छ । गाउँमुनिको खोलाबाट पानी तानी गाउँ पुर्‍याइएको हो । करिब साढे ३ सय मिटर उचाइमा लिफ्टिङ प्रविधिबाट पानी तानिएको छ । ६९ लाख रकममा नवदुर्गाका २  गाउँमा सोलार प्रविधि जडान गरी पानी लिफ्टिङ गरिएको छ । 


मम्मे गाउँमा अहिले २६ धाराबाट खानेपानी वितरण गरिएको छ भने  २४ नयाँ धारा बनेका छन् । एउटा पुरानै धाराबाट पानी चालू गरिएको छ । लागत स्टिमेटमा २३ धार भए पनि स्थानीयको मागअनुसार एउटा धारा थपिएको र एउटा पुरानैबाट वितरण गरिएको इन्जिनियर महेन्द्र बोहराले जानकारी दिए ।


‘गाउँमाथिको डाँडामा १३ हजार लिटर क्षमताको ट्यांकी ठड्याइएको छ । उक्त ट्यांक भरिन मात्रै ३ घन्टा लाग्छ’, बोहराले भने । चुन खानेपानी सोलार लिफ्टिङ खानेपानी योजना वडा-२ को बकाल गाउँमा निर्माणको अन्तिम चरणमा छ । यसअघि सुवाकोटमा पनि सोलार लिफ्टिङ खानेपानी योजना सम्पन्न भइसकेको छ । 


गाउँपालिकाको महत्वाकांक्षी र पर्याप्त बजेटको योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष कवीन्द्र विष्टले बताए । उनले भने, ‘मम्मे गाउँबासीको मागअनुसार खानेपानि गाउँमा पुगेको छ । यसको दिगो व्यवस्थापन र मर्मतसम्भारका लागि उपभोक्ता समिति गठन गरिनेछ ।’