close

राहतका चामल गोदाममै सडे, विपन्न जनता भोकभोकै परे

राहतका चामल गोदाममै सडे, विपन्न जनता भोकभोकै परे

Trulli
ADVERTISEMENT

धनुषा - जनकपुर उपमहानगरमा विपन्न, असहाय, गरिब र दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नेको संख्या लम्बेतान छ । स्थानीय सरकार बनेपछि पालिकाभित्रका जनताका लागि गाँस, बास र कपासको मेलोमेसो जुटाइदिने आशमा सबै थिए ।


त्यस्तो केही भएन । दुर्गमका कुरा दुर्गमै भए तर सुगमको नगर जनकपुर उपमहानगरभित्रै भोकभोकै परेका नागरिकलाई राहत वितरणका लागि किनेको चामल व्यवस्थापन र संरक्षण अभावमा कुहिन थालेको छ । 


कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका बेला नगरभित्रका गरिब र विपन्न परिवारलाई राहत वितरण गर्न ल्याएको चामल पालिकाको गोदामघरमै यत्रतत्र सर्वत्र छरपस्ट छ । पालिकाभित्र बन्दै गरेको नयाँ भवन भुइँतलामा चामलका बोरा महिनौंदेखि फालेर राखिएको देखिन्छ । 

 

कतिपय बाँधिएका छन् भने कतिपय बोरा खुलै छाडिएको छ । बोराबाट चामल भुइँमा छरिएर कुहिएको अवस्था छ । भोकालाई दिनुपर्ने उक्त चामल हेर्ने कोही छैन । पालिकाभित्र राहतका लागि आएको बोराका बोरा चामल कुहिँदासमेत नगरका पदाधिकारीलाई मतलबै छैन ।

 

कोरोना संक्रमणका कारण थुप्रै ज्याला, मजदुरी गरेर जीवनयापन गर्नेहरू पालिकाभित्र भोकैभोकै छन् छन् । दुई छाक खानाको जोहो गर्ने उपमहानगरभित्रका हजारौं मजदुर काममाममा भौतारिइरहेका छन् । तर, उपमहानगरको गोदाममा चामल वितरण नगर्दा सडिरहेको छ । 


‘राहत वितरणपछि बाँकी रहेको चामल गोदाममा सडाउनुभन्दा विपन्नलाई वितरण गरिदिँदा राम्रो हुन्थ्यो । यसले नगरपालिकाप्रति जनताको भरोसा उँचो बनाउँथ्यो’, उपमहानगरको वडा–४ का वडाध्यक्ष सुदर्शन सिंह भन्छन् ।


राहत वितरण नगरप्रमुख र उपप्रमुखको जिम्मामा भए पनि अधिकार दिए वितरण गर्न तयार रहेको सिंह सुनाउँछन् ।


वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह नगरप्रमुख र उपप्रमुखको  अदूरदर्शिताका कारण चामल गोदाममा कुहिएको प्रतिक्रिया दिन्छन् । ‘पालिकाको २५ वटै वडामा राहत वितरण सम्पन्न भएको महिनौं बितिसक्यो । बोर्ड बैठकसमेत भयो । नगरप्रमुख र उपप्रमुखले कुनै पनि दिन चामल गोदाममा भएकोबारे चुँसम्म बोलेनन् । अतः गोदाममा चामल सड्नुका मुख्य जिम्मेवार उपमहानगरका पदाधिकारी नै हुन्’, साह भन्छन् ।

 

चामल गोदाममै सडेकोबारे प्रतिक्रिया लिँदा जनकपुरधाम उपमहानगरकी उपप्रमुख रीताकुमारी मिश्र संरक्षण अभावमा केही चामल कुहिएको स्वीकार्छिन् । उनले गोदाममा नकुहिएको  चामल विपन्न तथा गरिब समुदायलाई छिट्टै वितरण गरिने दाबी सुनाइन् । 


‘कोरोना संक्रमण बढेसँगै राहत वितरणका लागि उपमहानगरले गत आर्थिक वर्षमा २ लाख ५० हजार ७ सय २५ किलो चामल खरिद गरेको थियो । ४२ रुपैयाँ प्रतिकिलोग्रामको दरले सोना मन्सुली चामल खरिद गरेको थियो’, उपमहानगरका जिन्सी शाखा प्रमुख गणेशकुमार यादवले भने ।

 

उनका अनुसार खरिद गरिएको चामलमध्ये उपमहानगरका २५ वडामा कुल २ लाख ५० हजार ३ सय ३५ किलो चामल राहतस्वरूप वितरण गरिएको थियो । बाँकी चामल केही महिनासम्म उपमहानगरको कार्यालयमा सुरक्षित रहे पनि अहिले सडेको हो ।