close

जुम्लाका ६ हजार ४ सय १३ व्यक्ति बेरोजगार

जुम्लाका ६ हजार ४ सय १३ व्यक्ति बेरोजगार

Trulli
ADVERTISEMENT

जुम्ला– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लामा ६ हजार ४ सय १३ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष ०७७/०७८ का लागि जुम्लाका ४ स्थानीय तहमा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएका हुन् ।


सूचीकृत हुनेमा तिला गाउँपालिकामा १ हजार २ सय ६२, हिमा गाउँपालिकामा २  हजार १ सय ६५, सिन्जा गाउँपालिकामा १ हजार ७ सय ३ र पातारासी गाउँपालिकामा १ हजार २ सय ८३ व्यक्ति रहेको सिन्जा गाउँपालिका रोजगार अधिकृत इन्द्रराज गिरीले बताए ।


सरकारले ८ साउन २०७७ देखि भदौ ७ सम्म स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।


तोकिएको समयावधिभित्र फाराम भरेका २ हजार ८ सय ७६ बेरोजगार व्यक्तिउपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका २ हजार १ सय ६५ जनालाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको हिमा गाउँपालिका रोजगार संयोजक दीपेन्द्र पौडेलले जानकारी दिए ।


सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम १ सय दिनको काममा लगाइने तिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नमराज भण्डारीले बताए । ‘१ आर्थिक वर्षमा न्यूनतम १ सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिएबमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाएका छौं’। पातारासी गाउँपालिका रोजगार संयोजक अनुज्ञ भण्डारीले भने ।


प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाका ८ वटै स्थानीय तहलाई ५१ लाखका दरले रकम अनुदान प्रदान गरिसकेको यहाँका रोजगार शाखाले जनाएका छन् । यस वर्ष विश्व बैंकको सहकार्यमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना र नेपाल सरकारको सहयोगमा कामका लागि पारिश्रमिक सामुदायिक आयोजनाबाट देशभर करिब ५ लाख रोजगारी सिर्जना गर्न ११ अर्बभन्दा बढी रकम सरकारले विनियोजन गरेको छ ।