close

शुद्धोधन गाउँपालिकाको आफ्नै भवन

शुद्धोधन गाउँपालिकाको आफ्नै भवन

Trulli
ADVERTISEMENT

रुपन्देही– रुपन्देहीको शुद्धोधन गाउँपालिकाले  ६ करोड खर्चिएर आफ्नाे कार्यालय भवन निर्माण गरेको छ । नगरपालिकाले १ बिघामा ४५ कोठाको साढे ३ तला प्रशासनिक भवन निर्माण गरेको हो ।


२८ असोज २०७५ मा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले शिलान्यास गरेको भवन कात्तिकमा निर्माण सम्पन्न भई उद्घाटन गरिएको हो । भवनको प्रदेशसभा सदस्य सांसद तुलसीप्रसाद चौधरीले उद्घाटन गरे ।


भ्याटसहित ६ करोड ४० लाख १ सय ८८ रुपैयाँमा २७ असार २०७५ मा ठेक्का मा दिइएको भवन निर्माण व्यवसायीले कोभिडको बाबजुद समयमै निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरेका हुन् ।


शुद्धोधन गाउँपालिका वडा– ५ मानपकडी बजार नजिकै  १ बिघामा नयाँ भवन निर्माण गरिएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले गाउँगाउँमा विकास निर्माणको लहर आएको बताए ।


उनले निर्वाचनका बेला गरिएको प्रतिबद्धताअनुसार अहिले विकास निर्माणका काम धमाधम चलिरहेको बताउँदै शतप्रतिशत काम  सम्पन्न नभए पनि निर्माणको क्रममा रहेको दाबी गरे । उनले भने, ‘जनताको वाचाअनुसारको काम निर्माण गरेरै छाड्छौं ।’


कार्यक्रममा संविधानसभा सदस्य सोनिया यादवले विकास निर्माणको अभियानमा अहिले बाधा–अड्चन ल्याउने काम भइरहेकाले विकासविरोधीलाई पाखा लगाएरै भए पनि पूर्वाधार निर्माणलाई अगाडि बढाउनुपर्ने बेला आएको बताइन् ।


कार्यक्रममा पालिका अध्यक्ष किशुनचन्द्र चौधरीले गाउँपालिकाको भवन नभएको अवस्थामा अस्थायी संरचनबाट स्थायी संरचनामा जानु आफैंमा गौरवको काम भएको बताए ।


उनले आफ्नो कार्यकालमा शुद्धोधनको विकासलाई अग्रगति दिने भन्दै यसमा सबै जनताको साथ र सहयोग आवश्यक भएकामा जोड दिए । गाउँको विकासको काममा कसैलाई काखापाखा नगरिएको चौधरीले दाबी गरे ।


गाउँपालिका उपाध्यक्ष शान्तीदेवी ज्ञवालीले विकास निर्माणको खम्बाको रुपमा स्थायी संरचना रहेको भन्दै कार्यसम्पादनलगायतका हरेक कुरामा भवनले विशेष महत्व राख्ने धारणा राखिन् । उनले अन्य विकास निर्माणको काममा समेत गाउँपालिकाले विशेष योगदान दिएको दाबी गरिन् ।


पालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रप्रसाद चौधरीले भौतिक संरचना पनि विकास एउटा लहर भएको भन्दै कार्यसम्पादन सहज रुपमा गर्न सक्ने वातावरणले प्रभाव पार्ने बताए ।


कार्यक्रममा पालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत  तथा हाल गुल्मीको चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका अनन्तपाणि मरासिनी, गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष जयशंकर यादवलगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।