close

मनकारी थकाली: ९ सय परिवारले पाए खाद्यान्न

मनकारी थकाली: ९ सय परिवारले पाए खाद्यान्न

Trulli
ADVERTISEMENT

जुम्ला- कोरोना कहरले गरिखानेहरूको विचल्ली भइरहेका बेला गुठीचौर गाउँपालिकाका समाजसेवी जनक थकालीले ९ सय घरपरिवारलाई चामल, तेललगायतका खाद्यान्न सहयोग गरेका छन् ।

 

जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न भोट, मधेस झर्नेदेखि ज्यालामजदुरी गुमेका स्थानीयलाई समाजसेवी थकालीले राहत स्वरूप खाद्यान्न वितरण गरेका हुन् । उनले प्रत्येक घरपरिवारलाई २० किलो चामल र एक प्याकेट तेल वितरण गरेका हुन् ।

 

थकालीले २३ लाख रुपैयाँ बराबरको राहत वितरण गरेका छन् । राहत सामग्री दिएपछि स्थानीयले थकालीलाई संकटमा गुन लगाएको भन्दै मुरीमुरी धन्यवादसमेत दिए ।

 

जिल्लाका स्थानीय सरकारले अहिलेसम्म  यति ठूलो परिणाममा राहत दिन सकेका छैन । तर, कार्यपालिका सदस्य थकाली एउटै व्यक्तिले ९०० परिवारलाई राहत उपलब्ध गराएपछि जिल्लाभर उनको चर्चा चुलिएको छ ।

 

जडीबुटी व्यवसायी थकालीले यार्सा र सेतक चिनी संकलन तथा बिक्री वितरण गर्छन् । थकालीले भने, ‘यो राहत धेरै पैसा भएर दिएको होइन । मलाई तपाईंहरूले जडीबुटी दिनुभयो । मुनाफाको रकमले संकटका बेला दुःखमा साथ दिएको हुँ । राहतमा कुनै स्वार्थ छैन,’ थकाली भन्छन् ।

 

कोरोनाका कारण स्थानीयले यो वर्ष जडीबुटी संकलन गर्न सकेका छैनन् । यहाँको आम्दानीको स्रोत नै जडीबुटी हो । संकलित जडीबुटीसमेत बिक्री नहुँदा स्थानीयकै घरमा थन्किएका छन् । थकालीले भने, ‘तपाईंहरूले उत्पादन गरेको हरेक कृषि वस्तुको व्यवस्थापन गरेर म आफैं बजारीकरण गरिदिन्छु ।’