close

गलकोट नगरका बूढा बाआमालाई चाडपर्व खर्च

गलकोट नगरका बूढा बाआमालाई चाडपर्व खर्च

Trulli
ADVERTISEMENT

बाग्लुङ- बाग्लुङको गलकोट नगरपालिका ज्येष्ठ नागरिकको सम्मानमा स्वरूप चाडपर्व खर्च उपलब्ध गराएको छ । दशैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा नगरका सबै वृद्धवृद्धालाई चाडपर्व खर्च उपलब्ध गराइएको हो । यो खर्च वृद्धभत्ताबाहेकको रकम हो ।

 

उमेरमा समाज विकासमा योगदान गरेका ज्येष्ठ नागरिक चाडपर्वका बेला बेखर्ची हुन नपरोस् भन्दै नगरपालिकाले हरेक वर्ष यस्तो खर्च उपलब्ध गराउँदै आएको छ ।

 

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ८५ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकका लागि चाडपर्व खर्च उपलब्ध गराइने उल्लेख थियो । उनीहरूले नेपाल सरकारले पाउने सामाजिक सुरक्षा भत्ताका अतिरिक्त नगरपालिकाको तर्फबाट चाडपर्व खर्च पाउँछन् ।

 

वृद्धहरूको घरघरमै पुगेर कर्मचारी र जनप्रतिनिधिको टोलीले खर्च उपलब्ध गराएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । ज्येष्ठ नागरिकलाई नगरले सम्मानसमेत गर्दै आएको उनले जानकारी दिए । प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले उनीहरूले खर्च पाउँछन् ।

 

‘समाजको अगुवाका निम्ति नगरपालिकाले ल्याएको कार्यक्रमलाई आगामी दिनमा अझै प्रभावकारी ढंगले सञ्चालन गर्ने योजना छ’, गैरेले भने ।

 

कार्यक्रम सञ्चालनको सुरुमा नगरका २९८ ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिएको थियो । गत वर्ष ३७१ जनालाई वितरण गरिएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार यस वर्ष ३०६ जनालाई चाडपर्व खर्च वितरण गर्ने लक्ष्य छ । ‘ज्येष्ठ नागरिकलाई दशैँअघि नै सबै वडामा रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ’, भण्डारीले भने ।