close

प्रधानमन्त्री रोजगार कार्यक्रममा युवा आकर्षण घट्यो

प्रधानमन्त्री रोजगार कार्यक्रममा युवा आकर्षण घट्यो

Trulli
ADVERTISEMENT

झापा- देशको बेरोजगारी समस्या हल गर्न सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा पछिल्लो वर्ष युवा सहभागिता घट्दै गएको छ । झापाको बुद्धशान्ति गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा अघिल्लो वर्षको तुलनामा यो वर्ष बेरोजगार आवेदन दिनेको संख्यामा कमी आएको छ । 

 

अघिल्लो आर्थिक वर्षलाई आधार मानेर हेर्दा यस वर्ष कार्यक्रममा आवेदन दिनेको संख्या झन्डै आधामा झरेको छ । अघिल्लो वर्ष एक हजार ७६२ जनाले आवेदन भरेका थिए भने यस वर्ष ६११ जनाले मात्र भरेको बुद्धशान्ति गाउँपालिका रोजगार संयोजक दीपा उपाध्याय पोखरेलले बताइन् । 

 

सात वडा रहेको बुद्धशान्ति गाउँपालिकामा अघिल्लो आवमा वडा- १ बाट ३८९, वडा- २ बाट १८५, वडा- ३ बाट २८०, वडा- ४ बाट ४०३, वडा- ५ बाट २७४, वडा- ६ बाट ९२ र वडा- ७ बाट १३९ गरी एक हजार ७६२ जनाले आवेदन दिएको संयोजक पोखरेलले जानकारी दिइन् । 'यस वर्ष सबै वडाको संख्या घटेर ६११ जनाको मात्र आवेदन परेको छ’, पोखरेलले भनिन् ।

 

गाउँपालिकाले वैदेशिक रोजगारमा जान नसकेका, सीप भएका तर काम नपाएका बेरोजगारलाई न्यूनतम रोजगारी प्रदान गर्ने योजना बनाएको छ । गत आवमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक मर्मत, नाला निर्माण, सडकपेटी, चौतारा, घरबास निर्माणलगायत काम भएका थिए । 

 

पढे/नपढेका सबैलाई निर्माणमा लगाउँदा योग्यता र सीप भएकालाई काममा जाँगर नचलेको स्थानीय युवाको बुझाइ छ । सोही कारण आवेदन दिनेहरूको संख्या घटेको स्थानीय सागर भण्डारी बताउँछन् ।


रोजगारी हकसम्बन्धी ऐन, २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम १०० दिनको रोजगारी पाउन सक्छन् । तर, वर्षमा १०० दिन मात्र रोजगारी दिएर सरकारले बेरोजगार युवालाई भुल्याउन खोजेको भण्डारीको आरोप छ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रम दिगो रोजगारी सिर्जनाभन्दा पनि सामाजिक रूपमा संरक्षण कार्यक्रम मात्र भएको बताएको छ । स्थानीय सरकारले न्यूनतम एक दिन बराबरको रोजगारीका लागि ५१७ रुपैयाँ दैनिक ज्याला छुट्याएको छ । यस वर्षको कार्यक्रम दशैँलगत्तै सुरु हुने पोखरेलले बताइन् ।

 

‘बेरोजगार युवालाई काम दिनु मात्र ठूलो कुरा हैन । उनीहरूले कामबाट पाएको सन्तुष्टि पनि महत्त्वपूर्ण हुन्छ । शैक्षिक योग्यतालगायतका आधारमा कामको प्रकृति छुट्याएर जागिर दिन सकिए मात्र युवा आकर्षण बढ्ने देखिन्छ’, पोखरेलले भनिन् ।