close

रारा जाँदै हुनुहुन्छ ? अब जुम्लाबाट ५ घण्टामै पुगिन्छ

रारा जाँदै हुनुहुन्छ ? अब जुम्लाबाट ५ घण्टामै पुगिन्छ

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली राजमार्ग कालिकोट नाग्म, सिंजा क्षेत्र हुँदै मुगुको पर्यकीय स्थल रारा तालसँग सडक जोडिएपछि जुम्ला सदरमुकाम खलंगा ओझेल परेको थियो । कर्णाली राजमार्ग हुँदै राराताल पुग्ने नाग्म–गमगढी सडक निर्माणपछि जुम्लाको सदरमुकाम खलंगामा पर्यटन गतिविधि सुस्ताएको थियो ।


खलंगा पुरातात्विक तथा धार्मिक हिसाबले पनि प्रसिद्ध छ । ऐतिहासिक चन्दननाथ भैरवनाथ मन्दिरदेखि ५२ फिट अग्लो डुडुल चैत्य गोम्बा यही पर्छ । यस्तै, तातोपानी धारा, विश्वकै अग्लो स्थानमा (२८५० मिटर) मार्सीधान फल्ने छुमचौर जिउलो र पातारासी हिमालको पदमार्ग पनि यही क्षेत्रमै छ ।


जुम्लाको पर्यटकीय स्थल ओझेल पर्न थालेपछि कर्णाली राजमार्ग, सदरमुकाम खलंगा, पातारासीको उर्थु, पट्मारा, खाली हँुदै कनकासुन्दरीको न्याउरीघाट, चौथा, बुलबुले भएर राराताल जाने छोटो सडक निर्माण गरिएको हो ।


चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका र कर्णाली प्रदेश सरकारको समन्वयमा उक्त सडक बनेको हो ।


मुगुको राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न सहज भएको छ । पहिले खलंगा, नाग्म, सिँजा क्षेत्र हुँदै राराताल जाने गरेकामा पछिल्लो समय खलंगा बजारदेखि छोटो सडक निर्माण भएपछि सहज भएको हो ।


कर्णाली राजमार्गको नाग्म–गमगडी सडकभन्दा योबाट झन्डै ३ घन्टामा छिटो पुगिन्छ । कर्णाली प्रदेश सरकारबाट खलंगा–रारा सडकको स्तरोन्नति गरिएपछि यात्रा सहज भएको हो ।


‘यो समय दैनिक २–३ गाडी पर्यटक ओहोरदोहार गर्छन्’, पातारासी गाउँपालिका स्थानीय जयबहादुर बुढा भन्छन्, ‘यो सडक रारा यात्राका लागि कोसेढुंगा बन्नेछ । यो सडकबाट यात्रा गर्दा पर्यटकले मनै लोभ्याउने प्रकृतिको दृश्य देख्न सक्छन् ।’


केही पर्यटक भने जहाजबाट सदरमुकाम पुगेर खलंगाबाट छोटो सडक हुँदै रारा र सिँजा–नाग्म–गमगडी सडकबाट फर्कने गरेको स्थानीय बताउँछन् । खलंगा–रारा सडक स्तरोन्नतिको काम भइरहेको छ । यो सडक ग्राभेल गर्ने हो भने बर्सेनि पर्यटक ओइरो लाग्न सक्ने उनीहरूको दाबी छ ।


नाग्म–गमगडी सडक हुँदै राराताल जाँदा ८ घन्टा लाग्छ । तर, खलंगा–रारा सडक हँुदै जाँदा ५ घन्टामा रारा ताल पुगिन्छ । आन्तरिक पर्यटक नमराज सापकोटा भन्छन्, ‘छोटो सडकले यात्रा सहज भइरहेको छ । अब सडकको बीच भागमा सुविधासम्पन्न पर्यटकमैत्री संरचना निर्माण हुन जरुरी छ ।’


यो सडक निर्माण तथा स्तरोन्नतिमा पातारासीले ७५ लाख, चन्दननाथले ५० लाख र कर्णाली प्रदेश सरकारले ३५ करोड बजेट विनियोजन गरेका छन् ।