close

धुनीवेँसीको प्रशासनिक भवन शिलान्यास

धुनीवेँसीको प्रशासनिक भवन शिलान्यास

Trulli
ADVERTISEMENT

धादिङ– धादिङको धुनीवेँसी नगरपालिकाले प्रशासनिक भवनको निर्माण सुरु गरेको छ । नयाँ बनाउन लागिएको भवनको घटस्थापनाको दिनको शुभ साइत पारेर शनिबार शिलान्यास गरिएको छ ।


काठमाण्डौंसँग सिमाना जोडिएको धुनीवेँसी नगरपालिकाले वडा नम्बर– ९ को जुगेडीमा प्रशासनिक भवन निर्माण गर्न लागेको हो । शनिबार एक कार्यक्रमका बीच पूर्व स्थानीय विकासमन्त्री एवम वागमती प्रदेशसभाका सांसद राजेन्द्रप्रसाद पाण्डे, नगरप्रमुख बालकृष्ण आचार्य र उपप्रमुख नीरु खरेलले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।


भवन निर्माण स्थल त्रिभुवन राजपथबाट ५०० मिटर भित्र रहेको छ । चार तल्ले भवन ४० हजार १३० वर्गफिट क्षेत्रफल तथा ३९ वटा कोठा रहने इन्जिनियर नवराज श्रेष्ठले बताए ।  अबको २  वर्षमा निर्माण गरिसकिने लक्ष्य राखिएको भवनको लागत ३० करोड रुपैयाँ छ ।
    

भवनमा सभाहल, बैठक कक्ष, प्रमुख, उपप्रमुखको कार्यकक्ष, सचिवालय, प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षसहित विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरूको कार्यकक्ष रहनेछ । भवनको चारैतिर कम्पाउण्ड आसपासमा हरियालीसहितको ग्राउण्ड र पार्किङ हुने इन्जिनियर श्रेष्ठले बताए ।
    

साविकका नौबीसे, जीवनपुर र छत्रेदेउराली गाविसलाई समेटेर बनाइएको धुनीवेँसी नगरपालिका काठमाडौं, मकवानपुर र नुवाकोट जिल्लासँग सिमाना जोडिएको जिल्लाको एक मात्र स्थानीय तहसमेत हो ।