close

टलक्क टल्किए गुल्मीका विपन्न बस्ती

टलक्क टल्किए गुल्मीका विपन्न बस्ती

Trulli
ADVERTISEMENT

गुल्मी– गुल्मीमा अब खरका छाना इतिहास बन्दै छन् । पानी परे चुहिने, आगलागीको उत्तिकै डर । विपन्न परिवारका थुप्रै रात पीडामै बिते । कतिपय गरिब परिवारले खरकै झुप्रोमा थुप्रै पुस्ता फेरे । तर, स्थानीय तहले सञ्चालन गरेको खरका छानामुक्त गर्ने कार्यक्रमले त्यस्ता कयाैं परिवार अहिले ढुक्कले निदाउन पाएका छन् ।

 

२०७४ को तीनै तहका निर्वाचनमा खरका छानामुक्त अभियान प्रमुख चुनावी एजेन्डा हो । चुनावमा कैयन् विपन्न परिवारले त्यहि आशमा भोट हाले । फलस्वरुप अहिले त्यही भोटले ओत पाएका छन् ।

 

अहिले मदाने गाउँपालिका–७ पुर्कोटदहका प्रेम विकको घर टिनले छाएर चिटिक्क भएको छ । उनको ऊर्जाशील उमेर खरकै झुपडीमा बित्यो । उनलाई सुरुमा नेताले चुनावी वाचा पूरा गर्लान् र आफ्नो घर टिनले छाइएला भनेर पत्यार थिएन ।  तर, जस्तापाताले घरको ओत बनाए ।


‘कुनै कुराको डर छैन । रातमा ढुक्कले सुत्न पाइएको छ भने दिनमा काम गरेर परिवार पाल्छु,’ उनले भने, ‘अहिले आगो, पानी र हुरीको चिन्ता छैन ।’


यो कार्यक्रम विपन्न परिवारसँग जोडिएकाले स्थानीय तहले प्रभावकारी रुपमा अगाडि बढाए । अहिले गुल्मीका रेसुंगा र मुसिकोट नगरपालिका तथा इस्मा, मालिका, मदाने धुर्कोट र छत्रकोट गाउँपालिकाले खरका घर छानामुक्त घोषणा गर्ने अन्तिम चरणमा पुगेका छन् ।

 

जिल्लाका १२ स्थानीय तहमा यो अभियान जारी छ । यो अभियान पूरा हुँदा करिब ८ हजार घरधुरी घरका छानामुक्त हुनेछन् । जिल्लाका क्षेत्र नम्बर २ का स्थानीय तहले मात्रै अहिलेसम्म करिब ४ हजार घरलाई खरका छानामुक्त गरिसकेका छन् भने करिव २० करोड बजेट खर्चिएका छन् ।

 

मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा लाभग्राही ९ सय ९३ घरपरिवारले नै जस्तापाता प्राप्त गरेका र अन्यमा कोभिडको कारण घोषणा गर्न नसकिएको बताउँछन् । सापकोटाका अनुसार खरका छाना विस्थापनकै लागि अहिलेसम्म करिब साढे ४ करोड खर्च भएको छ ।


धुर्कोट गाउँपालिकाले पनि यसको पहल सुरु गरेको छ । अहिलेसम्म करिब साढे ५ सय घरपरिवारले खरको छाना हटाएर जस्तापाता लगाएका छन् । त्यसका लागि गाउँपालिकाले अहिलेसम्म २ करोड बजेट खर्च गरेको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले जानकारी दिए ।


‘स्थानीय चुनावमा भोट माग्न पुगेका खरे बस्तीहरूमा कार्यकालभित्रै जस्तापाता टल्किँदा सन्तुष्टि मिलेकोे छ । कृषि र पशुपालनको माध्यमबाट जनताको आर्थिक समृद्धि पनि अगाडि बढाएका छौं भने सँगै सुरक्षित आवासका लागि खरका छाना विस्थापन अभियानलाई प्राथमिकता दिइएको छ’, पोख्रेलले भने ।

 

मालिका गाउँपालिकामा १ हजार ४७ घर खरका छाना भएका थिए । अहिलेसम्म ९ सय २८ घरधुरी खरका छानामुक्त भएका छन् । यो वर्ष बाँकी १ सय १९ घर धुरीमा पनि जस्तापाता लगाएपछि गाउँपालिकालाई खरका छानामुक्त गरिने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । गाउँपालिकाले अहिलेसम्म खरका छाना विस्थापन गर्न ३ करोड ९० लाख खर्च गरेको छ ।


यो स्थानीय तहहरूले गरेमध्ये उत्कृष्ट काम हो । केही वर्ष पहिले जिल्लाको मुसिकोट नगरपालिका–४ दजाकोटमा आगलागी भएर थुप्रै खरका घर जलेपछि पूर्वमन्त्री गोकर्ण विष्टले आफ्नो निर्वाचन क्षेत्रमा ल्याएको खरका छाना विस्थापन अभियान अहिले देशव्यापी बनेको नेकपाका नेता गणेश श्रीपाली दाबी गर्छन् ।


‘२/४ वर्षमै जिल्लाका थुप्रै विपन्न परिवारका झुप्रे घरमा जस्तापाता लगाइएको छ । यसबाट विपन्नको मुहार हँसिलो भएको छ’, उनले भने ।