close

सिंजा गाउँपालिका आफ्नै कार्यालय भवन बनाउँदै 

सिंजा गाउँपालिका आफ्नै कार्यालय भवन बनाउँदै 

Trulli
ADVERTISEMENT

जुम्ला - जुम्लाको सिंजा गाउँपालिकाले छ करोड रुपैयाँको बजेटमा आफ्नो कार्यालय भवन निर्माण गर्न थालेको छ । गाउँपालिकाले वडा- ३ को नराकोटमा कार्यालय भवन निर्माण गर्न थालेको हो । 


सिंजावासीले गाउँपालिका भवन निर्माण गर्नका लागि निःशुल्क जग्गा उपलब्ध गराएपछि पालिकाले भवन निर्माणको थालनी गरेको हो । 


गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार ७० लाख रुपैयाँ गाउँपालिका र ७० लाख रुपैयाँ कर्णाली प्रदेशको लगानीमा आर्थिक वर्ष २०७६/०७७ मा भवन निर्माण थालनी गरिएको हो । 


उक्त बजेटले १४ कोठे भवनको फाउण्डेसन र बाउन्ड्री पर्खाल निर्माण गरिएको छ । उनले चालू आर्थिक वर्षमा पालिकाको ४० लाख रुपैयाँबाहेक अरू बजेट व्यवस्थापन गर्न नसकिएको बताए । संघीय र प्रदेश सरकारसँग बजेटको पहल गरिए पनि टुंगो लाग्न नसकेको उनको भनाइ छ । 


गाउँपालिकाले भवन निर्माणका लागि निःशुल्क जग्गा प्राप्त गरेपछि संघीय सरकारले बजेट विनियोजन गर्ने भन्ने थियो । तर, हालसम्म संघीय सरकारले बजेट व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ । 


गाउँपालिका आफैँले छ करोड रुपैयाँ बजेट विनियोजन गरी भवन निर्माण गर्न सक्ने अवस्था छैन । यस विषयमा संघीय सरकार र प्रदेश सरकारसँग गुहार मागेको तर सुनुवाइ नभएको अध्यक्ष रावलले बताए । बजेट कतैबाट नजुटेपछि भवन अधुरै रहने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।  

 

यहाँका हिमा, कनकासुन्दरी, पातारासी, तिला, गुठीचौर र तातोपानी गाउँपालिका भाडाकै घरमा कार्यालय संचालन गर्दै आएका छन् । तातोपानी र तिला गाउँपालिकाले पालिकाको केन्द्र टुंगो लगाए पनि हिमा, कनकासुन्दरी, पातारासी गाउँपालिकाले पालिकाको केन्द्रसमेत टुंगो लगाउन सकेका छैनन् ।