close

बिउबिजन बैंक खाेल्दै दिप्रुङ चुइचुम्मा

बिउबिजन बैंक खाेल्दै दिप्रुङ चुइचुम्मा

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बिउबिजन बैंक सञ्चालन गर्ने तयारी थालेको छ । किसानले चाहेको समय अन्न, तरकारी तथा फलफूललगायतको आवश्यक बिउबिजन उपलब्ध गराउने लक्ष्यसहित गाउँपालिकाले कृषि सहकारीमार्फत बिउबिजन बैंक सञ्चालन गर्ने तयारी थालेको हो ।

 

किसानलाई आवश्यक पर्ने बिउ खरिदका लागि तराई वा अन्यत्र जिल्ला पुग्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकामै बिउबिजन बैंक सञ्चालनको तयारी थालिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।


‘अन्यत्रबाट ल्याइएका कतिपय बिउ नउम्रिने, उम्रे पनि फल नदिने, नसप्रनेजस्ता समस्या देखिएकाले आफ्नै ठाउँमा उत्पादन भएका बिउलाई संकलन र भण्डार गर्ने तथा किसानलाई बिक्री गर्ने व्यवस्था गर्न लागिएको हो’, अध्यक्ष राईले भने ।

 

मकै, धान, गहुँ, जौ, आलु, तरकारी, प्याज, फलफूललगायतको बिउबिजन बैंक स्थापनाका लागि गाउँपालिकाले चालू आर्थिक वर्ष नीति तथा कार्यक्रम नै पारित गरेको थियो ।  गाउँपालिकाभित्र बिउबिजन बैंक सञ्चालन गर्दा बिउ खरिदका क्रममा बाहिरिने रकमलाई गाउँमै रोक्न सकिने गाउँपालिका अध्यक्ष राईले दाबी गरे । 

 

कृषि सहकारीमार्फत चालू आर्थिक वर्षदेखि नै किसानलाई बिउ उपलब्ध गराउने गाउँपालिकाको तयारी छ । बिउबिजन बैंक सञ्चालनका लागि गाउँपालिकाले आइतबार ४ कृषि सहकारीसँग छलफल चलाएको छ । 


रातमाटा कृषि सहकारी, तृतीयभन्ज्याङ कृषि सहकारी, दुर्गा कृषि सहकारी र चुइचुम्मा कृषि सहकारी संस्थाका पदाधिकारीसँग भएको छलफलमा आगामी २० कात्तिकसम्म बिउबिजन बैंक सञ्चालनको मोडालिटीबारे टुंगो लगाउने निर्णय भएको छ ।

 

बैठकमा गाउँपालिकास्तरीय कृषि सहकारी संघ बनाएर सोहीमार्फत बिउबिजन बैंक सञ्चालन गर्ने विषयमा छलफल भएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । ‘स्थानीय सरकारले बेलाबेला किसानलाई बिउ बाँडिरहनुपर्छ । त्यो बिउ किन्न सधंै तराई वा अन्यत्र पुग्नुपर्ने बाध्यता छ । यही ठाउँमा बिउ भण्डारण गर्न सकिए यसमा भइरहेको परनिर्भरता हटाउन सकिन्छ,’ गाउँपालिका अध्यक्ष राईले भने ।

 

बिउबिजन बैंक सञ्चालन गर्दा स्थानीय रैथाने जातका अन्नको संरक्षणमा टेवा पुग्ने दाबी उनको छ । कृषि सहकारीले बैंकमार्फत किसानलाई हाइब्रिड बिउसमेत उपलब्ध गराउने व्यवस्था मिलाउने तयारी छ । 

 

बिउबिजन बैंकबाट वितरण हुने बिउ गुणस्तरीय हुनैपर्नेछ । यसका लागि कृषिविज्ञबाट गुणस्तर परीक्षणको व्यवस्था मिलाइने अध्यक्ष राईले बताए । गत वर्ष किसानलाई मकैको बिउ वितरण गर्ने क्रममा नपाएपछि गाउँपालिकाले बिउ बैंक सञ्चालन गर्ने रणनीति सार्वजनिक गरेको हो ।