close

बुटवल उपमहानगरमा अत्यावश्यकबाहेक सबै सेवा बन्द

बुटवल उपमहानगरमा अत्यावश्यकबाहेक सबै सेवा बन्द

Trulli
ADVERTISEMENT

रुपन्देही–  बुटवल उपमहानगरले भेन्टिलेटर र आइसियुका शैया थप गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ । जुनसुकै उमेर समूहका संक्रमितलाई पनि आइसियु र भेन्टिलेटर आवश्यक पर्ने भन्दै उपमहानगरले सहयोगको आग्रह गरेको हो ।


उपमहानगरको ६८औं कार्यपालिका बैठकले जनस्वास्थ्यमा थप संवेदनशील बन्न प्रदेश सरकारलाई आग्रह गर्दै सहकार्य र समन्वयका लागि तत्पर रहेको निर्णय गरेको छ ।


उपमहानगरका वडा–८ का वडा सचिव नारायण ज्ञवालीको आइसियु शैया अभावका कारण कोरोना संक्रमणबाट शनिबार मृत्यु भएपछि उपमहानगरले कम्तीमा २५ शैया थप गर्न प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको नगरप्रमुख शिवराज सुवेदीले बताए ।


उपमहानगरले आइसियु र भेन्टिलेटर शैया थपका लागि मापदण्ड पुग्ने नगरभित्रका जुनसुकै भवनसमेत उपलब्ध गराउन तयार रहेको बताउँदै प्रमुख सुवेदीले भने, ‘आवश्यक जनशक्ति र बजेट व्यवस्थापनमा सहजीकरण गर्छौं । उपमहानगरले गत चैतमै बुटवल–१० धागो कारखानामा २४ घन्टामै ५० शैयाको कोरोना विशेष अस्पताल, त्यहीँ लुम्बिनी प्रादेशिक अस्पताल र विभिन्न संघसंस्थाको सहकार्यमा आइसियु र भेन्टिलेटरसहितको कोरोना विशेष अस्पताल निर्माण गरेको थियो ।’


अहिले कोरोना विशेष अस्पताल र प्रादेशिक अस्पतालमा आइसियु अनि भेन्टिलेटरको अभाव छ । संक्रमण तीव्र रुपमा फैलिएपछि निजी मेडिकल कलेजलाई पनि कोरोना अस्पतालमा रुपान्तरण गर्न समुदाय स्तरबाट माग आएको सुवेदी सुनाउँछन् ।


उपमहानगरका कर्मचारीको कोरोना संक्रमण भएर समयमै भेन्टिलेटर नपाउँदा निधन भएको समाचार बाहिरिएपछि बुटवललगायतका क्षेत्रमा चिन्ता र त्रास बढेको छ ।


लक्षण नदेखिएका संक्रमित एक्कासि शिथिल हुने र श्वासप्रश्वासमा समस्या आएर तत्कालै भेन्टिलेटरको सहारामा जानुपर्ने अवस्था रहेको चिकित्सकले बताएका छन् ।

 

बुटवल वडा–८ कार्यालयमा कार्यरत नायव सुब्बानारायण ज्ञवालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ४९ वर्षीय ज्ञवाली संक्रमण भएर घरमै आइसोलेसनमा बसेका थिए । श्वाश्सप्रश्वासमा समस्या देखिएपछि अस्पताल पु¥याउँदा भेन्टिलेटर नपाएपछि उनको मृत्यु भएको हो ।


उपमहानगरले सोमबारदेखि अत्यावश्यक कामबाहेका अन्य सेवा बन्द गर्ने निर्णय  गरेको प्रमुख सुवेदीले जानकारी दिए । उनले उपमहानगरका स्वास्थ्यकर्मीलाई जनस्वास्थ्यको विषयमा जिम्मेवार बन्न आग्रह गर्दै सुरक्षा सावधानी अपनाएर सेवा प्रवाह गर्न आग्रह गरे ।