close

दरवाङका तन्नेरीलाई गाउँगाउँमै राेजगारी

दरवाङका तन्नेरीलाई गाउँगाउँमै राेजगारी

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका युवाहरू सीप सिकेर बिकास र आयआर्जनका काममा जोडिएका छन् । विदेशबाट फर्किएका र बेरोजगार युवाहरू संगठित भएर सामुहिक रुपमा स्वरोजगार बन्ने प्रयास गरेका हुन् । 


आत्मनिर्भर युवा स्वरोजगार समूहमार्फत विकास आयोजनाका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन र काम लगाउने, फर्निचर, ग्रिल, मिस्चर उद्योग सञ्चालनका साथै कुखुरा र भैंसीपालनको तयारी गरेका दरवाङका वडाध्यक्ष सन्तोष सुवेदीले बताए ।


‘१८ युवाहरू अहिले सामूहिक उद्यम सञ्चालनका लागि सीप सिकिरहेका छन्,’ उनले भन्नुभयो, ‘उत्पादन र आयआर्जनमा जोड्न बेरोजगार युवाहरूलाई समूहमा आबद्ध गराएर विकासका काममा परिचालन गर्न लागिएको छ ।’

 

नदी, पहिरो नियन्त्रण र सडक निर्माणमा आवश्यक पर्ने ग्याबिन जाली बुन्ने, ढलानमा प्रयोग हुने मिक्स्चर मेसिन चलाउन, ग्रिल र फर्निचर सम्बन्धी काम सिकेका छन् । स्थानीय आत्मनिर्भर व्यावसायिक कृषि सहकारी संस्थाबाट प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले व्यक्तिगत ऋण लिएका उनीहरूले आवश्यक औजार खरिद गरेर सामूहिक उद्योग सञ्चालन गर्ने तयारीमा छन् । 

 

स्थानीय स्तरमा आवश्यक पर्ने मजदुर पनि समूहमार्फत नै परिचालन गर्न थालेको आत्मनिर्भर युवा स्वरोजगार समूहका संयोजक गंगा रोकाले जानकारी दिए । ‘कोरोनाका कारण यहाँका आयोजनामा बाहिरका मजदुर आउन नसक्दा काम प्रभावित भएको छ,’ उनले भने, ‘यहीका युवाले सीप सिकेर दक्ष भए काम र दाम दुवै हुन्छ ।’

 

टोलटोलमा समूह बिस्तार गर्न थालेका उनीहरूले मासु र अन्डा उत्पादन गर्न कुखुरा तथा दूध उत्पादनका लागि भैंसीपालन सुरु गर्न लागेका छन् । विदेश र सहरी क्षेत्रबाट फर्किएका तथा गाउँमै भएका युवाहरूलाई समेटेर समूह बनाइएको छ । 

 

समूहमा आबद्ध भएपछि रुचिअनुसारको सीप सिकाउने र काममा लगाउन सहजीकरण गर्ने गरिएको छ । कोरोनाको जोखिमका कारण विदेश र सहरी क्षेत्रबाट रोजगारी गुमेर फर्कनु परेको अवस्थामा गाउँमै काम र दाम पाउने वातावरण बनेको समूहका सदस्य कुमार केसीले बताए ।

 

‘विदेशबाट फर्किएपछि बेकामे भएर घरमै बसेको थिएँ,’ उनले भने, ‘सामूहिक रुपमा काम गर्दा सीप र अनुभव आदानप्रदान गर्न पाइयो । हातमा सीप र मनमा जाँगर भए गाउँमै छ्यालब्याल काम पाइँदो रहेछ ।’


मालिका गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘मालिकामै कमाऔं, मालिकामै रमाऔं’ नारा सार्वजनिक गरेको छ । तर, नीतिअनुसारको बजेट विनियोजन र कार्यक्रम नबनाएकामा युवाहरूले गुनासो गरेका छन् । 


स्थानीयलाई नै सीप सिकाएर विभिन्न आयोजनामा परिचालन गर्दा विकाससँगै रोजगारी, आयआर्जनको अवसर सिर्जना, सामाजिक विकृति र विसंगति न्यूनीकरणमा सहयोग देखिएको छ ।