close

जुम्लाको ओदीलाई भेडा स्रोत केन्द्र बनाइँदै

जुम्लाको ओदीलाई भेडा स्रोत केन्द्र बनाइँदै

Trulli
ADVERTISEMENT

जुम्ला - कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जुम्लाको हिमा गाउँपालिका-२ ओदी गाउँको ओल्खे पाटनलाई भेडास्रोतका रुपमा स्थापना गरेको छ । 

 

कर्णालीका प्रत्येक जिल्लामा कुनै न कुनै विषयको स्रोत केन्द्र बनाउने सरकारी योजनाअनुरुप जुम्लाको ओदीको ओल्खेमा भेंडा स्रोतको रुपमा स्थापना गरिएको हो ।


यहाँ प्रशस्त चरन क्षेत्र छ । भेंडापालनका लागि अनुकूल भूगोल पनि भएकाले भेंडाबाख्रा स्रोत केन्द्र बनाउन थालिएको हो । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले भने, ‘यहाँ स्थापित भेडा स्रोत केन्द्रले यहाँको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने निश्चित छ । साथै, कृषि पर्यटनलाई सहयोग पुग्नेछ ।’

 

भेंडा स्रोत केन्द्रमा भेडाबाख्रा अनुसन्धान केन्द्र गुठीचौरबाट ल्याएका २१ वटा उन्नत जातका भेंडा राखिएको छ । ओदी गाउँमा २ सय घरधुरी छन् । सबै घरमा न्यूनतम १५ देखि २ सय भेंडापालन गरिएको छ । त्यसैले यो क्षेत्रलाई भेंडा स्रोत केन्द्रका रुपमा लिइएको छ ।  


भेडा स्रोत केन्द्रसम्म सडक सञ्जाल जोडिएको छ । भेडा स्रोत केन्द्रमा स्थानीय र उन्नत जातका भेंडा राख्न छुट्टाछुट्टै खोर बनाइने भएको छ । ‘स्रोत केन्द्रलाई भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौरजस्तै बनाउन पहल भइरहेको छ’, पशु प्रमुख महत भन्छन्, ‘अन्यत्र जिल्लाबाट भेंडाको माग भए जति पनि पठाउन सकिने गरी भेंडापालन गरिनेछ । यो स्रोत केन्द्रबाट किसानले खोजेको जात दिन सकिनेछ ।’


भेंडा स्रोत केन्द्रका लागि झन्डै ८  करोडको डिपीआर बनेको छ । स्रोत केन्द्र नजिकै होमस्टे, भ्यु टावर र गेस्टहाउस बनाएर पर्यटक ल्याउन सकिने स्थानीय बताउँछन् । नाग्म-गमगढी सडकदेखि झन्डै ३ घन्टाको दूरीमा यातायातका साधनबाट ओल्खे पाटन पुगिन्छ । 


‘पर्यटकीय क्षेत्र राराताल जाने पर्यटकलाई एक बास बसाल्न सक्छौं । गेष्टहाउस निर्माण गर्न सक्छौं । यो आँट र साहस स्थानीयमा देखिनुपर्‍यो’, स्थानीय भन्छन् ।  यो क्षेत्रबाट झन्डै १२ जिल्लाको भूगोल देख्न सकिन्छ । 


प्रदेश सरकारले १ करोड रकम उपलब्ध गराए सोही बरारबको श्रमदान गर्दा यो क्षेत्रको मुहार फेरिन सक्ने कर्णाली प्रदेशका कृषिमन्त्री बताउँछन् ।


नाग्म-गमगढी सडक खण्डको कोइरेली, वड्की, स्यारगाउँ, ओेदी, लामाविष्णु मन्दिर, महादेव हुँदै ओल्खे पुगिन्छ । झन्डै ७ हजार ५० वर्गमिटर क्षेत्रफलमा भेडा स्रोत केन्द्र बनेको छ । भेंडी फार्म निर्माण भएको स्रोत केन्द्रको भवन बनिसकेको छ । घेराबार पर्खाल, पानीको व्यवस्थापन गरिएको छ । लामा विष्णु भेंडीपालन समूहका प्रेम रोकाया भेडा स्रोत केन्द्र स्थापनाले गाउँमा रोजगारी र आम्दानी दुवै बढ्ने बताउँछन् 


उनले भने, ‘यो क्षेत्र भेंडापालनका लागि उपयुक्त छ । चरन क्षेत्र छ । यहाँका स्थानीय भेंडापालनप्रति आकर्षित भएकाले भेडा स्रोत केन्द्रको भरपुर उपयोग हुने देखिन्छ ।’ हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकाया र हिमा-२ को वडा कार्यालयले समेत भेंडा स्रोत केन्द्र निर्माणमा साथ दिएका छन् ।