close

घरटोलमै पुग्ने भत्ता बैंकमा, वृद्धवृद्धा र अशक्तलाई सास्ती

घरटोलमै पुग्ने भत्ता बैंकमा, वृद्धवृद्धा र अशक्तलाई सास्ती

Trulli
ADVERTISEMENT

गुल्मी- जिल्लाको मदाने गाउँपालिका- ७ का ८० वर्षीय जीतबहादुर र ७० वर्षीया बाटुली विक श्रीमान्-श्रीमती हुन् । दुवैले सामाजिक सुरक्षा भत्ता पाउँछन् । दुवै जनाले चार महिनामा २४ हजार रुपैयाँ पाउने हुँदा परिवार चलेकै छ ।

 

तर, गाउँठाउँमै पाउँदै आएको भत्ता बैंकमा पुगेपछिको सास्तीले भने विक दम्पती खुसी छैनन् । ‘गाउँमै पाउँदा आनन्द थियो । अहिले साढे एक घन्टाको बाटो हिँडेर भत्ता बुझ्न आएँ’, जीतबहादुरले भने, ‘बूढाबूढी हिँड्न र लाइनमा बस्न निकै सकस हुँदोरहेछ ।’

 

बैंकिङ प्रक्रिया पूरा गर्दा झन्डै दुई घन्टा लाग्ने अनि वडा कार्यालय र बैंक पुग्नुपर्ने भएकाले विक जस्तै थुपै नागरिकलाई बैंकिङ प्रणाली मनपरेको छैन ।

 

भनभने टिमुरखर्ककी ६८ वर्षीया टीका जीसी बैंकले नै टोलटोलमै पुगेर भत्ता वितरण गर्नुपर्ने माग गर्छिन् । उनले बैंकिङ भएपछि सम्बन्धित मान्छे नै उपस्थित हुनुपर्ने भएकाले सधैँ वडा र बैंक गर्न आफूहरूलाई निकै गाह्रो हुने बताइन् । ‘बूढाबूढी र अशक्त लामो बाटो कसरी आउने ?’, उनले भनिन्, ‘टोलको साटो घरमै गएर दिनुपर्नेमा उल्टो कामले सास्ती भएको छ ।’

 

सामाजिक सुरक्षा भत्ता दुरूपयोग भएका खबर बेलाबखत आउने गरेका छन् । सोही कारण थुप्रै स्थानमा कर्मचारी र जनप्रतिनिधि विवादित बनिरहेका छन् ।

 

गुल्मीको मदाने गाउँपालिकाले भने सोही समस्या समाधानका लागि सबै वडाको सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्न थालेको छ । मदानेले तीन चौमासिकमा करिब सात करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

 

ज्येष्ठ नागरिक, एकल मिहला, पूर्ण अशक्त, आंशिक अशक्त र दलित बालबालिका गरेर दुई हजार ७०५ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेको गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पन्थीले जानकारी दिए ।

 

बैंकिङ प्रणालीले भत्ताको दुरूपयोग हटाउने र लाखौँ नगद बोकेर टोलटोल पुग्दा हुने जोखिम न्यूनीकरण गरे पनि बै‌ंक र वडा कार्यालय पुग्दा नागरिकलाई सास्ती भएको पोख्रेलले बताए ।

 

स्थानीय तहपछि जनप्रतिनिधिले टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्थे । घर नजिकबाट भत्ता बुझ्न पाउँदा वृद्ध नागरिकलाई सहज पनि थियो ।

 

मदाने वडा- ७ का वडा अध्यक्ष काशीबहादुर बोहरा राज्यको नीति कार्यान्वयन गर्दा बैंकिङ प्रणालीले नागरिकलाई वडा र बैंकमै पुग्नुपर्ने सास्ती थपिएको बताउँछन् ।

 

‘राज्यको नीति एकै किसिमको छ तर एकीकृत वस्तीहरू कम छन् । भूगोलका कारण घन्टौँ हिँडेर वडा र बैंक पुग्नुपर्ने बाध्यता नागरिकलाई छ । बैकिङ प्रणालीसँगै भत्ता बुझ्न ज्येष्ठ नागरिक र अशक्तलाई सजिलो छैन । जनप्रतिनिधिले नागरिकको सास्ती बुझे पनि राज्यको नीति मान्नुपर्ने बाध्यताका कारण बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो’, बोहरा भन्छन् ।

 

मदाने गाउँपालिकाले वडा- ३ सिर्सेनीको साइन रेसुंगा बैंक सिमलटारी र बाँकी छ वडाको कृषि विकास बैंक बैंकिङ कार्यालय पुर्कोटदहमार्फत भत्ता वितरण थालेको छ ।

 

सिर्सेनीका नागरिकले गाविस कार्यालय हुँदै बैंकमार्फत सामाजिक सुरक्षा रकम बुझ्दै आएका थिए । अग्लुङ, बाँझकटेरी, म्यालपोखरी, मलायगिरी, पुर्कोटदह र भनभनेका नागरिकलाई पहिलो चौमासिकको भत्ता कृषि विकास बैंकमार्फत वितरण थालिएको बैंकका प्रबन्धक ईश्वरीप्रसाद नेपालले जानकारी दिए ।

 

‘लाभग्राहीले नै सामाजिक सुरक्षा भत्ता प्राप्त गरून् भन्ने उद्देश्यले बैंकमार्फत वितरण सुरु गरिएको हो । पहिलो चौमासिकपछि अरू बेला कागजी प्रक्रियामा झन्झट हुँदैन’, नेपालले भने ।