close

सिन्धुलीमा करदाता कार्यालयको सेवा सुचारु

सिन्धुलीमा करदाता कार्यालयको सेवा सुचारु

Trulli
ADVERTISEMENT

सिन्धुली- सिन्धुलीमा स्थापना गरिएको करदाता सेवा कार्यालयले मंगलबारदेखि सेवा सुरु गरेको छ ।

 

कार्यालयले अब करदाताको सेवा र कर संकलनसम्बन्धी सबै काम गर्ने कर अधिकृत चन्द्र दाहालले जानकारी दिए । ‘दर्ता, खारेजी, करदाताले पाउने चुक्ता,  विवरणलगायत सबै सेवा दिनेछौं’, उनले भने ।

 

यसअघि ३७ किलोमिटर टाढा बर्दिवास पुगेर कर तिर्दै आएका उद्यमी, व्यवसायी, रोजगारदातालगायतका करदाताले यहाँबाट सेवा लिन सक्नेछन् ।

 

जिल्लामा करदाता कार्यालयले सेवा सुरु गरेपछि उद्योगी, व्यवसायीले बर्दिबास पुग्नुपर्ने झन्झट हटेको उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र बैदारले बताए ।

 

‘सिन्धुलीका करदाताले अब घरदैलोमै करदाता सेवा कार्यालय पाएका छन् । राज्यलाई कर बुझाउन कहिले जनकपुर त कहिले बर्दिबास धाउँदै आएका जिल्लावासीलाई अब सहज हुनेछ’, बैदारले भने ।

 

आन्तरिक राजस्व कार्यालय जनकपुरअन्तर्गतका करदाता सेवा कार्यालय सिन्धुलीले मंगलबारबाट कमलामाई नगरपालिका- ५ मधुटारमा कार्यालय खोलेर सेवा सुरु गरेको हो ।

 

यसअघि जिल्लाका सात हजार २०० करदाताले ३७ किलोमिटर टाढा बर्दिवास पुगेर कर तिर्दै आएका थिए ।