close

बागमतीका शिक्षकले तलव पाएनन्, अध्यक्ष भन्छन्ः मास्टरको रोइलो मात्र हो

बागमतीका शिक्षकले तलव पाएनन्, अध्यक्ष भन्छन्ः मास्टरको रोइलो मात्र हो

Trulli
ADVERTISEMENT

ललितपुर– बागमती गाउँपालिकाले दशैं मुखमै आइपुग्दासमेत गाउँपालिकामा कार्यरत शिक्षकहरुलाई तलव निकासा गरेको छैन ।

 

तलव निकासा नगर्दा शिक्षक तथा सम्बन्धित संघ संगठनहरु आन्दोलित बनेका छन् । विगत देखि नै शिक्षकको तलब निकासीका विषयमा विवादित बन्दै आइरहेको बागमती गाउँपालिकाले यस पटक पनि गत साउनदेखिको तलब निकासा गरेको छैन् ।


बागमती गाउँपालिका शिक्षक महासंघका अध्यक्ष दुधराज जिम्बाले महासंघ लगायत अन्य विभिन्न पेसागत संगठनहरुले गाउँपालिकामा लिखित तथा मौखिक रुपमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदा पनि गाउँपालिका उदासिन रहेको बताए ।


उनले गाउँपालिकाको शिक्षा शाखाले रकम पठाइसकेको भए पनि लेखाले रोकेको भन्दै अड्काउने काम गरिएको बताए । अन्य सबै स्थानीय तहले दसै नलाग्दै सबै शिक्षकको तलब निकासा गरेपनि  बागमती गाउँपालिकाले दिएको छैन ।

 

नेपाल राष्ट्रिय शिक्षक संगठनका बागमती गाउँपालिका समिति अध्यक्ष ठाकुर लामाले ५ असोजभित्र तलब निकासा नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । दशैंको मुखमै आइपुग्दा समेत तलब निकासा नहुनु खेदजनक भएको उनको भनाई छ ।


बागमती गाउँपालिकाका शिक्षा शाखा अधिकृत शेषकान्त पौडेलले भने एक साताअघि नै सबै विद्यालयको खातामा रकम पठाइसकेको तर के कारणले यस्तो विवाद आयो भन्ने कुरामा आफू नै अनविज्ञ भएको बताए । पालिका अध्यक्षले यस विषयमा छानविन गरी समस्याको समाधानको पहल गर्ने पौडेलले बताए ।

 

यस्तै गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले पनि बुधबारसम्म सबै विद्यालयको खातामा गाउँपालिकाले रकम जम्मा गरिसक्ने भन्दै शिक्षकहरुले अनावश्यक हल्ला बढी गरेको आरोप लगाए ।  उनले भने, ‘सबै शिक्षकहरुले विगत ७ महिनादेखि कामै नगरी घरबाटै तलब खाइरहेका छन्, अरु काम छैन तैपनि अनि फेसबुकमा रोइलो नगरेर के गरुन त !’