close

नाली बनेपछि दरवाङ बजार बन्यो चिटिक्क

नाली बनेपछि दरवाङ बजार बन्यो चिटिक्क

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा नाली बनाएर ढल व्यवस्थापन गरेपछि चिटिक्क बनेको छ ।


गाउँपालिकाले बजारभित्रको सडक र भित्री गल्लीहरूमा पक्की नाला बनाएपछि सरसफाइ कायम गर्न र फोहोर व्यवस्थापनमा सहयोग पुगेको छ । केही वर्षअघिसम्म घर, पसल र होटलबाट निस्कने पानी सडकमा फालिँदा हिलो र फोहोरको समस्या थियो ।


ढलको दुर्गन्धले नाक थुनेर हिँड्नुपर्ने अवस्थाको अब अन्त्य भएको छ । गाउँपालिकाले नाली बनाएर ढलको सुरक्षित रूपमा व्यवस्थापन गरेपछि सरसफाइ कायम हुनुका साथै फोहोरजन्य रोगको समस्या न्यूनीकरणमा सहयोग पुगेको स्थानीय मेखबहादुर बुढाले बताए ।


२०० घरधुरीको बसोवास रहेको दरवाङमा पछिल्लो एक दशकयता तीब्र रूपमा वस्ती विकास भइरहेको छ । दरवाङको तल्लो बजार, स्याउली बजार र धौलागिरि टोलमा नाली बनाउन मालिका गाउँपालिकाले एक करोड रुपैयाँको हाराहारीमा बजेट लगानी गरेको छ ।

 

वडा अध्यक्ष सन्तोष सुवेदीका अनुसार पालिकाले विनियोजन गरेको बजेटबाहेक स्थानीयवासीले पनि श्रमदान र नगद संकलन गरेर नाली निर्माणमा सहभागिता जनाएका छन् ।


गत आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजन भएको ५० लाख रुपैयाँ बजेटबाट ठेक्कामार्फत वडा कार्यालयदेखि धौलागिरि चोकसम्म र हुलाकचोक क्षेत्रमा १५५ मिटर नाली निर्माण भएको थियो ।


२०७५÷०७६ मा विनियोजन भएको आठ लाख रुपैयाँबाट स्याउली बजारमा १२० मिटर, २०७४÷०७५ मा विनियोजित आठ लाख रुपैयाँबाट वडा कार्यालय परिसरको घुम्ती र हुलाकचोकमा १३० मिटर नाली बनाइएको थियो ।


यस वर्ष धौलागिरि चोक क्षेत्रमा नालीसहित बजारभित्र ५०० मिटर सडक ढलान गर्ने लक्ष्यसहित ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको उपाध्यक्ष खरमाया बिटालुले बताइन् ।


पश्चिम म्याग्दीको व्यापारिक केन्द्र मानिएको दरवाङ बजारमा ढल व्यवस्थापनले सहज भए पनि खानेपानीको भने समस्या छ । २०७३ सालमा सुरु भएको दरवाङ खानेपानी तथा सरसफाइ आयोजनाले पर्याप्त बजेट विनियोजन नहुँदा पूर्णता पाउन सकेको छैन । खानेपानी आयोजनालाई पूर्णता दिएर नियमित पानी आपूर्तिको व्यवस्था मिलाएमा दरवाङवासीलाई थप सुविधा पुग्ने स्थानीयको भनाइ छ ।