close

महाराजगन्जभित्रका सबै सडक कालोपत्रे बन्दै

महाराजगन्जभित्रका सबै सडक कालोपत्रे बन्दै

Trulli
ADVERTISEMENT

रुपन्देही- कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिकामा सडक कालोपत्रे हुने क्रम तीब्र हुँदै गएको छ ।


महाराजगंज नगरपालिकाको मुख्य योजनाको रूपमा रहेको सडक कालोपत्रे तीब्र बनाएपछि मुख्य सडकदेखि भित्री सडकसम्म कालोपत्रे हुने भएको छ । महाराजगंज नगरप्रमुख अब्दुल कलामले अहिले नगरको मुख्य योजना नै सडक कालोपत्रे भएको बताए ।


वर्षौंसम्म पनि मुख्यदेखि भित्री सडक कालोपत्रे हुन नसक्दा बजार कुरूप देखिनुका साथै वर्षामा हिलाम्मे र हिउँदमा धुलोले नगरवासीलाई समस्या भएपछि नगरले सडक कालोपत्रे गर्ने काम प्राथमिकतामा राखेको उनले बताए ।


अहिले महाराजगंज बजारदेखि पिपरी, बरगदा बरगदी, पडरिया सिगरहा, हरदौनासम्मको करिव आठ किलो मिटर सडक सात करोड ६८ लाख रुपैयाँको लागतमा कालोपत्रे हुने तयारीमा रहेको नगरप्रमुख कलामले बताए । त्यस्तै, सिगंरहादेखि हरदौना सिमानासम्म दुई करोड ९२ लाख रुपैयाँको लागतमा सडक कालोपत्रे भइरहेको छ ।


बहुवर्षीय योजनाको रूपमा रहेको सडकको काम लकडाउनले केही प्रभावित भए पनि काम निरनतरताका साथ अघि बढाइएको नगरप्रमुखको भनाइ छ । सडक निर्माण कार्य तीब्र बनाएपछि अनुगमनलाई पनि निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले बताए ।

 
काष्ठमण्डप कन्स्ट्रक्सनले उक्त सडक निर्माणको जिम्मा पाएको छ । सडकको काम समयमा सक्ने काष्ठमण्डप कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर वासुदेव अधिकारीले बताए ।


जिल्लामै सबैभन्दा पछि परेको महाराजगंज नगरपालिकामा सडक निर्माण कार्य सुरु भएपछि त्यहाँका नागरिक खुसी भएका छन् ।