close

मोलुङका किसानलाई अनुदानै अनुदान

मोलुङका किसानलाई अनुदानै अनुदान

Trulli
ADVERTISEMENT

ओखलढुंगा- मोलुङ गाउँपालिकाले व्यावसायिक तरकारी खेती गरिरहेका किसानहरूलाई अनुदान घोषणा गरेको छ । गाउँपालिकाले तरकारी खेतीमा दुई खाले अनुदान दिने तयारी गरेको हो ।


वैदेशिक रोजगरीबाट फर्किएका युवाहरूका लागि नेपाल कृषि सेवा विकास कार्यक्रम (प्रयास)को साझेदारीमा तरकारी खेतीतर्फ अनुदान दिन आवेदन माग गरिएको गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत गोपाल नेपालले जानकारी दिए ।  


उक्त परियोजनाअन्तर्गत प्लास्टिक घरमा बेमौसमी तरकारी खेती र प्लास्टिक घरमा च्याउ खेतीतर्फ अनुदानको व्यवस्था गरिएको छ । गाउँपालिकाभित्रका विदेशबाट फर्किएर कृषि पेसा सुरु गरेका र त्यसको तयारी गरेका युवाहरूलाई अनुदानबाट स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने उद्देश्य राखिएको नेपालको भनाइ छ ।


गाउँपालिकाले विदेशबाट फर्किएकामध्ये ३२ जनालाई टनेलमा बेमौसमी तरकारीका लागि ६० हजार ५०० रुपैयाँका दरले अनुदान दिनेछ । त्यस्तै, बंगुर पालनमा २० जनलाई ३४ हजार र च्याउ खेतीतर्फ १६ जनालाई ३६ हजार ८०० रुपैयाँका दरले अनुदानको व्यवस्था गरिएको छ ।


४० घरले तरकारीको बिउ बीजन सात हजार ५०० रुपौयाँका दरले प्राप्त गर्नेछन् । हाटबजारमा वैज्ञानिक नापतौलको व्यवस्थापनका लागि गाउँपालिकाभित्र लाग्ने चारवटा हाटबजारका लागि ३० हजार रुपैयाँका दरले चारवटा डिजिटल तराजु खरिद गर्ने कार्यक्रम तय भएको छ ।

 

अधिकांश नागरिककको पेसा कृषि भए पनि बाहिरबाट तरकारी आयात भइरहेको समयमा आयात विस्थापन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने गाउँपालिकाको बुझाइ छ ।


गाउँगाउँमा सडक पुगेपछि अत्यधिक उपभोग्य वस्तु आयात हुने तर रित्तै गाडी फर्किने अवस्थाले झन् गरिबीतर्फ धकेलिने भएकाले उत्पादन पनि निर्यात गर्न अत्यावश्यक रहेको गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताए । उनले भने, ‘रित्तै फर्किने गाडीमा यहाँका उत्पादन पठाउन सकियो भने मात्र सडक पुगेको औचित्य हुन्छ, यसतर्फ गाउँपालिकाले सोचिरहेको छ ।’


विदेशबाट आएर स्वदेशमै केही व्यवसाय गर्न चाहेका युवाहरूलाई गाउँपालिकाले अवसर दिएको छ । यस्तो अवसर सदुपयोग गरे युवाहरू स्वदेशमै आत्मनिर्भर बन्न सक्ने र केही कमाउन विदेशिनु नपर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष गौतम बताउँछन् ।