close

आफ्नै भवन बनाउँदै जुम्लाको तिला गाउँपालिका

आफ्नै भवन बनाउँदै जुम्लाको तिला गाउँपालिका

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको तिला गाउँपालिकाले नौ करोड ३० लाख रुपैयाँको बजेटमा आफ्नै कार्यालय भवन निर्माण गर्न थालेको छ । गाउँपालिकाले वडा- २ को डुण्डेलीमा बुधबार शिल्यान्यास गरी कार्यालय भवन निर्माण गर्न थालेको हो ।


स्थानीयले गाउँपालिका भवन निर्माण गर्नका लागि निःशुल्क जग्गा उपलब्ध गराएपछि पालिकाले भवन निर्माणको थालनी गरेको हो ।


संघीय, कर्णाली प्रदेश र गाउँपालिकाको त्रिपक्षीय लगानीमा पालिका कार्यालय भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष कालीबहादुर रावतले बताए । उनले भने, ‘सडक छेउमा गाउँपालिकालाई आम्दानी हुने गरी टहरा निर्माण पनि गर्ने योजना छ ।’


बगैँचासहितको २४ कोठे तीन तल्ले तीनवटा भवन बनाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । १६ रोपनी जग्जामा दुई वर्षभित्र पालिका भवन, विषयगत शाखाको भवन र पुस्तकालयसहितका तीनवटा भवन निर्माण गरिनेछ ।


त्यस्तै, सिंजा गाउँपालिकाले छ करोड रुपैयाँको लागतमा वडा- ३ नराकोटमा आफ्नै कार्यालय भवन निर्माण गर्न थालेको छ । तातोपानी गाउँपालिकाले पनि वडा- ३ लिताकोटमा कार्यालय भवन निर्माण गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।


यहाँका हिमा, कनकासुन्दरी, पातारासी, तिला, गुठीचौर र तातोपानी गाउँपालिका भाडाकै घरमा कार्यालय संचालन गर्दै आएका छन् । तातोपानी र तिला गाउँपालिकाले पालिकाको केन्द्र टुंगो लगाए पनि हिमा, कनकासुन्दरी, पातारासी गाउँपालिकाले पालिकाको केन्द्रसमेत टुंगो लगाउन सकेका छैनन् ।