close

कटारीमा ३० शय्याको आइसोलेसन निर्माण गरिँदै

कटारीमा ३० शय्याको आइसोलेसन निर्माण गरिँदै

Trulli
ADVERTISEMENT

उदयपुर- नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालसहितलाई कोरोना संक्रमण देखिएपछि उदयपुरको कटारी नगरपालिका धमाधम कोभिड अस्पताल निर्माणमा जुटेको छ ।

 

 
कटारीमा कोभिड- १९ को संक्रमण बढ्न थालेपछि तत्कालीन नेपाली सेनाको ब्यारेक रहेको स्थानमा कोभिड अस्पताल बनाइन थालेको हो ।

 


कोरोना संक्रमण बढ्दै गएपछि कटारी नगरपालिका- ३ स्थित ताराधारीमा ३० शय्याको सुविधायुक्त आइसोलेसन निर्माण थालेको हो । कटारी नगरपालिका- ३ ताराघारीमा तत्कालीन सेनाको गुल्म थियो । ताराधारीमा रहेको सेनाको गुल्म बेलस्रोतमा सरेपछि सेनाले बनाएको भौतिक संरचना नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।


अहिले त्यसैलाई मर्मत गरेर आइसोलेसन सेन्टर तयार गरिएको नगरपालिकाका सूचना अधिकारी ओम मिश्रले बताए । ‘भौतिक संरचना तयारी अवस्थामा रहेकाले आइसोलेसन बनाउन सजिलो भयो’, सूचना अधिकारी मिश्रले भने, ‘बिजुली, पानी, शौचालय, नेटको सुविधासहित आइसोलेसन तयार गरिएको छ ।’


फूलपातीको दिनबाट ३० शय्याको सुविधा सम्पन्न आइसोलेसन सञ्चालनमा ल्याउने तयारी भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।


केही दिनयता कटारी नगरमा कोरोना संक्रमण देखापरिरहेको छ  । नगरप्रमुख्र श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अर्याल, शिक्षा शाखाका सूर्य कार्की, त्रिवेणी माविका प्रधानाध्यपकलगायत ३० जना संक्रमित भइसकेका छन् ।


‘व्यवस्थित आइसोलेसन नहुँदा संक्रमित घरमै होम आइसोलेसन, छिमेकी सिन्धुलीको दूधौली नगरपालिकाको आइसोलेसन बसेर उपचार गराइरहेका छन् ।


‘होम आइसोलेनमा बस्न समस्या हुनेहरूलाई तत्काल त्यहाँ राख्ने योजना छ’, नगर स्वास्थ्य शाखाका सुरेश दाहाल भन्छन् ।


करिब २२ लाख रुपैयाँको लागतमा आइसोलेसन निर्माण गरिएको सूचना अधिकारी मिश्रले बताए ।


आइसोलेसनमा कटारी अस्पतालका डाक्टरहरूले चिकित्सकीय सुविधा दिनेछन् । उदयपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६६ महिलासहित २०८ पुगिसकेको छ ।


त्यसैगरी उदयपुर कोभिड- १९ अस्पताल सातधारे बेल्टारमा उपचाररत जिल्ला समन्वय समितिका उदयपुर प्रमुख खड्गबहादुर परियार, बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापासहित १६ जनाले कोरोना जितेर घर फर्किएका छन् ।


चौदण्डीगढी नगरपालिका- ६ को सातधारेस्थित उदयपुर कोभिड- १९ अस्पतालमा उपचाररत १२ देखि १८ दिनपछि १२ पुरुष र चार महिला संक्रमणबाट मुक्त भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।


अस्पतालको आइसोलेसनमा ११ पुरुष र आठ महिला उपचाररत छन् भने एक जना पुरुष होम आइसोलेसनमा रहेको कार्यालयले बताएको छ ।