close

मिक्वाखोला गाउँपालिकाका हजार सेवाग्राहीले पाएनन् सामाजिक सुरक्षा भत्ता

मिक्वाखोला गाउँपालिकाका हजार सेवाग्राहीले पाएनन् सामाजिक सुरक्षा भत्ता

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीले यस वर्षको दशैँमा भत्ताविहीन भएर पर्व मनाउनुपर्ने भएको छ ।


गाउँपालिका प्रशासनले भत्ता बाँड्न नसकेका कारण पालिकाभित्रका करिव एक हजार सेवाग्राहीले भत्ताविना पर्व मनाउनुपर्ने अवस्था आएको हो । ‘प्रमुख प्रशासकीय अधिकृतज्यूले यसको व्यवस्थापन नगरी हिँड्नुभएछ’, गाउँपालिकाका प्रवक्ता तथा वडा नं.- ३ का वडा अध्यक्ष दीपेन्द्र लिवाङले भने ।


उनले भत्ताकै भरमा पर्व टार्ने योजनामा रहेका सेवाग्राही यसका कारण सबैभन्दा बढी मर्कामा पर्ने बताए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थलङले सामाजिक सुरक्षा भत्ता वितरण नभएको स्वीकार गर्दै लेखा प्रणाली व्यवस्थापनमा देखिएको कठिनाइका कारण यस्तो आएको बताए । प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ दशैँ मनाउन घर बिदामा गएकै कारण मात्र भत्ता वितरण नरोकिएको उनको भनाइ छ ।


बैंक नै नपुगेको ताप्लेजुङको एक मात्र गाउँपालिका मिक्वाखोलाले सम्बन्धित वडा सचिवको नाममा सामाजिक सुरक्षा भत्ताको पेस्की दिने तयारी गरेको तर कोष तथा लेखा नियन्त्रक कार्यालयले त्यसलाई नमानेका कारण दशैँअघि भत्ता वितरण प्रक्रियामा समस्या आएको थलङले जानकारी दिए ।


उनले प्रक्रिया मिलाउन पटकपटक भएको छलफल नटुङ्गिएकाले चौमासिक अवधिको यस समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको बताए ।