close

२६ असाेजदेखि सुर्नयामा लागेकाे ताला अझै खुलेन

२६ असाेजदेखि सुर्नयामा लागेकाे ताला अझै खुलेन

Trulli
ADVERTISEMENT

बैतडी - बैतडीको सुर्नया गाउँपालिकामा गत २६ असोजदेखि गरिएको तालाबन्दी अझै खुल्न सकेको छैन् । गाउँपालिकाको केन्द्र कठ्यागौंडमै हुनुपर्ने मागसहित स्थानीयले संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका छन् ।


गाउँपालिकाले गत वर्ष पविता केन्द्र बनाउने निर्णय गरेपछि असन्तुष्ट समूहले तालाबन्दी गरेको हो । गाउँपालिकामा तालाबन्दी हुँदा नियमित कामकाज अवरुद्ध भएकाले सेवाग्राही समस्यामा परेको स्थानीय नरेन्द्र विष्टले बताए । 


गत २८ असोजमा मुचुल्का बनाएर ताला खोल्ने क्रममा पालिका अध्यक्ष वीरबहादुर विष्टमाथि नै कुटपिट भएपछि सबै कामकाज प्रभावित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाले जानकारी दिए ।


सो दिन गाउँपालिका अध्यक्षसहित १४ घाइते भएका थिए । घाइतेमध्ये गाउँपालिका अध्यक्ष अझै उपचाररत रहेकाले छलफलै हुन नपाएको उनले बताए । दसैंपछि असन्तुष्ट समूहसँग बसेर छलफल गर्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत ओझा बताउँछन् ।


सुर्नयामा तालाबन्दी भएपछि सेवाग्राही मारमा परेका छन् । गाउँपालिकामा तालाबन्दी हुँदा पालिकाबाट प्राप्त हुने सेवा पाउन मुस्किल भएको स्थानीयको भनाइ छ । गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा अहिले गाउँलेहरूबीच समेत तिक्तता आएको छ ।


कसैले पविता केन्द्र उपयुक्त हुने तर्क गरिरहेका छन् भने कसैले साविककै ठाउँमा केन्द्र उपयुक्त हुने बताएका छन् । गाउँपालिकाको केन्द्रको विवादलाई लिएर जनप्रतिनिधिमाथि नै आक्रमण भएपछि असुरक्षा महसुस भएको जनप्रतिनिधिको भनाइ छ । 


‘छलफलबाट समस्याको समाधान गर्नुको सट्टा कुटपिटमै उत्रिएपछि अब त्यो ठाउँ जानै मुस्किल भएको छ’, सुर्नया गाउँपालिका वडा-१ का वडाध्यक्ष गजेन्द्रबहादुर चन्द भन्छन् । 


गाउँपालिका अध्यक्षमाथि कुटपीट गरेको आरोपमा २ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।