close

खिजीदेम्बाका एकल पुरुषलाई मासिक भत्ता

खिजीदेम्बाका एकल पुरुषलाई मासिक भत्ता

Trulli
ADVERTISEMENT

ओखलढुङ्गा - खिजीकातीका एकल पुरुषलाई भत्ता दिन थालिएको छ । जिल्लामै पहिलो पटक खिजीदेम्बा गाउँपालिका ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो ।


सत्तरी वर्ष माथिकाले ज्येष्ठ नागरिक भत्ता पाउने भए पनि भत्ता पाउने उमेर नपुगेका एकल पुरुष सहाराविहीन बनेकाले  वडाको बजेटबाट मासिक ५ सय रुपैयाँ आर्थिक सहयोग गरिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए । 


यस वर्षदेखि खिजीकातीका ६० देखि ६९ वर्ष उमेरका सात एकल पुरुषले मासिक ५ सय रुपैयाँका दरले  भत्ता खान थालेका छन् ।  वडा कार्यालयले एकल पुरुषलाई यस वर्षको मासिक भत्तावापत ६ हजार रुपैयाँ वितरण गरिसकेको छ । खिजीदेम्बा –४ मा १५  एकल पुरुष छन् । उनीहरूमध्ये आठ जना ६० वर्षमुनिका छन् ।

 

साठी वर्षमुनिका एकल पुरुष आफैँ सक्षम हुने भएकाले ६० देखि ६९ वर्षका एकल पुरुषलाई मात्रै मासिक भत्ता दिन थालिएको हो । सत्तरी वर्ष पुगेपछि सरकारको नियमित सामाजिक सुरक्षा भत्तामा सहभागी गराइने वडा कार्यालयले जनाएको छ ।


सरकारको सामाजिक सुरक्षा भत्ता पाउने उमेर नपुग्दै वडाबाट विशेष व्यवस्था गरेर भत्ता दिन थालेपछि खुशी लागेको र सो रकम ओखतीमूलोका लागि खर्च गरिने स्थानीयवासी सन्तलाल तामाङले बताए । अर्का एकल पुरुष खुदबहादुर सुनुवारले राज्यले एकल पुरुषका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । 


खिजीदेम्बा– ४ का वडाध्यक्ष न्यौपानेले व्यक्तिगत तथा संस्थागत रूपमा जनपक्षीय काम गर्दै आएका छन् । व्यक्तिगत खर्चमा गाउँका गर्भवतीलाई पोषिलो खानेकुरा वितरण, महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमा, कोरोनाको संक्रमणबाट बच्न सरसफाइको सन्देशसहित वडाका सबै घरमा हातधुने साबुन वितरणसहितका सहयोग उनले गरेका छन् ।

 

वडा कार्यालयको बजेट र पालिका तथा अन्य निकायसँगको साझेदारीमा युवा तथा महिलाको क्षमता विकास, विद्यार्थी तथा बुहारी छात्रवृत्तिलगायत विभिन्न नयाँ कार्यक्रम खिजीकातीमा सञ्चालन हुँदै आएका छन् ।