close

त्रियुगा वडा नम्वर १६ः एक घर एक भैंसी, खाऔं दूध नखाऔं रक्सी अभियान

त्रियुगा वडा नम्वर १६ः एक घर एक भैंसी, खाऔं दूध नखाऔं रक्सी अभियान

Trulli
ADVERTISEMENT

उदयपुर-  उदयपुरको त्रियुगा नगरपालिका–१६ चिलाउनेले मदिराजन्य पदार्थ उत्पादन र प्रयोग घटाउँदै व्यावसायिक पशुपालनतर्फ जोड दिने अभियान थालेको छ ।


दूधजन्य पदार्थ उत्पादन र उपभोग बढाउँदै मदिराजन्य पदार्थमा कमी ल्याउन वडाले यो अभियान थालेको हो ।  


त्रियुगा नगरपालिका–१६ का वडाध्यक्ष मानबहादुर राईले मदिरा नियन्त्रण गर्दै दूधजन्य पदार्थको उत्पादन र सेवनमा जोड दिन आप्mनो वडाबाट अभियान थालिएको बताए ।


‘मदिरा सेवनले घरेलु हिंसा, झैझगडा, स्वास्थ्यमा खराबीका साथै आर्थिक, सामाजिक क्षतिबाट वडाबासीलाई मुक्ति दिँदै व्यावसायिक पशुपालनतर्फ उन्मुख गराउन यो अभियान थालिएको हो’, राईले भने ।


पशुपालनबाट दूधजन्य पदार्थ उत्पादन, सेवन र बिक्री वितरणले स्वास्थ्यमा फाइदा हुनुका साथै आयआर्जनसमेत गर्न सकिने उनको ठहर छ ।  भैंसीपालनबाट दूधजन्य पदार्थको उत्पादन गर्दै बिस्तारै मदिरा खपतमा कमी ल्याउन ‘एकघर एक भैंसी, खाऔं दूध नखाऔं रक्सी’ सन्देशमूलक नारा अघि सारिएको छ । यो नाराले भैंसीपालन अभियानलाई सफल बनाउने वडाध्यक्ष राईको तर्क छ ।


‘वडाले कृषकलाई भैंसीपालनतर्फ आकर्षित गर्न चालू आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट पहिलो चरणमा १० किसानलाई भैंसी किन्न अनुदानमा खर्च गर्दै छौं’, वडाध्यक्ष राईले भने ।  उनका अनुसार व्यावसायिक भैंसीपालनमा  इच्छुक किसानलाई वडाले ५० प्रतिशत अनुदान दिनेछ । बाँकी ५० प्रतिशत रकम सहकारीबाट जुटाउन सहकारी गठन गरिएको छ ।

 

सहकारीको ऋण १ वर्षभित्र तिर्न मिल्ने गरी व्यवस्था मिलाउन वडा–१६ मै ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गठन गरी सञ्चालनमा आएको अध्यक्ष राईले जानकारी दिए ।


‘दूधजन्य पदार्थ सेवन र बिक्री वितरण गर्दै मदिरा उत्पादन र प्रयोगमा कमी ल्याउन नगरपालिकाले दीर्घकालीन  योजना अघि सारेको हो,’ वडाध्यक्ष राईले भने, ‘चालू वर्ष परीक्षणका लागि आफ्नै वडाबाट अभियान सुरु गर्दै छु । पछि नगरपालिकाभिर विस्तार गरिनेछ ।’


भौगोलिक रूपमा वडा–१६ खोंच, खोलानाला र घाँसजन्य वनस्पती बाक्लो भएको जंगल भएकाले पशुपालनको सम्भावना भएरै वडाले अभियान चलाएको उनले बताए ।


‘भैंसीपालनबाट दूध, दही, घ्यू उत्पादन हुन्छ, जसले बालबालिका र वृद्धवृद्धामा पोषणको कमी हुन नदिएर स्वस्थ राख्छ,’ अध्यक्ष राईले भने, ‘मदिरा सेवनबाट हुने घरेलु हिंसालगायत विभिन्न सामाजिक विकृतिमा पनि कमी ल्याउँछ ।’


किसानलाई भैंसीपालनमा जोड दिएका उनले उत्पादित दूधको व्यवस्थित खपत र बिक्री वितरण गर्न वडामै दूध चिस्यान केन्द्र खोल्न प्रदेश सरकारसँग प्रस्ताव पनि गरिसकेका छन् ।

 

प्रदेश सरकार र नगरपालिकाको समन्वयमा वडामै एउटा चिस्यान केन्द्र खोलेर त्यहाँ उत्पादित दूध र दूधजन्य पदार्थको व्यवस्थित बिक्री वितरण गरिने उनले जानकारी दिए । यसबाट  किसानलाई आत्मनिर्भर बनाएर तिनको आयआर्जनमा वृद्धि हुने लक्ष्य वडाले राखेको राईले बताए ।