close

तलबभत्ता गरिब असहायलाई, घरमै आइसोलेसनमा बसेकालाई बिनापैसो खाना

तलबभत्ता गरिब असहायलाई, घरमै आइसोलेसनमा बसेकालाई बिनापैसो खाना

Trulli
ADVERTISEMENT

रुपन्देही– अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा–१२ का वडाध्यक्ष नारायण खड्काले कोरोना पोजेटिभ भएकाहरूलाई आफ्नै घरमा आइसोलेसन बनाएर राख्ने व्यवस्था मिलाएका छन् ।


कोरोना संक्रमणको महामारीले देश आक्रान्त बनिरहेको स्थानीय सरकारका वडाध्यक्ष खड्काले उदाहरणीय काम सुरु गरेका हुन् । वडामै सामुदायिक आइसोलेसन स्थापना गरेर संक्रमितहरूलाई राख्ने व्यवस्था रहे पनि खड्काले आफ्नै घर दिएका छन् ।

 

खड्का भन्छन् ‘कोरोना संक्रमितलाई गाउँमा आउन नदिने भन्ने समाजको अहिले पनि हेर्ने दृष्टिकोण नकारात्मक नै छ । यस्तो अवस्थामा मैले आफ्नो घरलाई आइसोलेसनको रुपमा परिवर्तन गरेको हुँ । बाहिर बनाउन वडासँग त्यस्तो कुनै बजेट छैन, जसले कोरोना संक्रमितका लागि खर्च गरोस् । अहिलेसम्म गोजीबाटै खर्च गरिरहेको छु ।’

 

अध्यक्ष खड्काले आफ्नो वडामा हालसम्म ५ जनामा कोरोना संक्रमण देखिएकामा तिनमा ३ जना निको भइसकेका र २ जना आइसोलेसनमा रहेको बताए । ‘चेक गर्ने हो भने सबैलाई संक्रमण छजस्तो लाग्छ किनकि धेरैलाई त्यस्तै लक्षण देखिएको छ । म आफैंमा पनि त्यस्तो लक्षण देखिएको छ । पालिकामा स्वाब दिएको छु । पोजेटिभ देखिए त्यही आइसोलेसनमा बस्छु । संक्रमितलाई पनि हौसला बढ्छ,’ खड्का भन्छन् ।

खड्काका अनुसार व्यवस्थित बनाउन सके आफ्नो घरमा १० जनाका लागि आइसोलेसन बनाउन मिल्छ । घर आइसोलेसनजस्तो बनाउने नभए पनि लक्षण देखिएका तर गम्भीर नभएकाहरूका लागि त्यही राख्न सहज हुने देखिएको अध्यक्ष खड्काले सुनाए ।


२ जना विदेश जान हिँडेकामा दुवैले टेकुमा कोरोना टेस्ट गराएपछि १ मा पोजेटिभ देखियो र अर्कोमा नेगेटिभ देखिए पनि विदेश उडेको उनले बताए । ‘अर्कोले पोजेटिभ देखियो भयो भनेर फोन ग¥यो । मैले त्यही बस भनें । उनी बसको पछिल्लो सिटमा बसेर फर्किसकेका रहेछन् ।  गाउँमा उसलाई आउनै नदिने र उतै बस्न लगाउने भन्ने कुरा पनि चले । मेरै घरमा राख्छु भनेर बोलाएँ’, वडाध्यक्ष खड्काले भने ।


वडाध्यक्ष खड्काले आफ्ना नाममा यो पटकको दसैं भत्ता पनि आइसकेको बताए  । तेल खर्चसहित मासिक २५ हजारका दरले आउने भत्ता पनि कोरोनामै खर्च गरेको उनले सुनाए । पहिले भत्ता बाँडने गरे पनि अहिले उक्त भत्ता आइसोलेसनमा बसेकाहरूको खानालगायतमा खर्च गर्दै आएको खड्का बताउँछन् ।


उनले भने, ‘मेरो पुख्र्यौली सम्पत्ति हो । हामी २ भाइ छााैं । मेरो मात्र नभएर भाइको समेत घरलाई हामीले आइसोलेसन बनाउने तयारीमा छौं । हामी १० जना परिवार अट्ने ठाउँ हो । अहिले पनि १० संक्रमितलाई राख्ने र अर्काेमा पनि १० जना राख्ने गरी व्यवस्था मिलाउँदै छौं ।’

घरको आइसोलेसनमा बसेकाहरूलाई आमाले पकाएर खाना दिँदै आएको खड्काले जानकारी दिए । दैनिक कुखुराको मासु र सुप अनिवार्य भए पनि अरु सामान्य खाना नै दिने गरेको खड्का बताउँछन् । जनप्रतिनिधि भएदेखिको तलब भत्ता र सुविधा सबै गरिब असहायलाई बाँड्दै आएको उनले सुनाए ।

 

‘म प्रहरीको अवकाशप्राप्त जुनियर अधिकृत हुँ । दोहोरो सुविधा लिन मिल्दैन । चुनावी घोषणामै भनेको थिएँ, जनप्रतिनिधिबापत आएको तलब, भत्ता सुविधा सबै जनताका लागि हुनेछ । तर, अहिले लुम्बिनी प्रदेशले भने दोहोरो भत्ता लिन मिल्ने गरी निर्णय गरेको छ । मैले त्यही लिएर बाँडेको छु’,  खड्काले भने ।