close

नगर विकास कोषको पैसा डुब्ला नि  !

धौलागिरिकै नमुना आधुनिक बसपार्क निर्माण अधुरै

नगर विकास कोषको पैसा डुब्ला नि  !

धौलागिरिकै नमुना आधुनिक बसपार्क निर्माण अधुरै

Trulli
ADVERTISEMENT

बाग्लुङ– गण्डकी प्रदेशकै नमुना बसपार्क निर्माणको म्याद आउँदो कात्तिक मसान्तमा सकिँदै छ । बाग्लुङ नगरपालिका वडा– ४ उपल्लाचौरमा निर्माणाधीन बसपार्कको म्याद सकिनै लागे पनि अहिलेसम्म ७५ प्रतिशत मात्रै पूरा भएको हो । 

 

एक वर्षभित्रै सुविधा सम्पन्न बसपार्क निर्माण गर्न नगर विकास कोषसँग दुइ  वर्षअघि ऋण सम्झौता गरेर प्रक्रिया थालेको बाग्लुङ नगरपालिकाले बसपार्क निर्माणका लागि अन्तिम पटक थपेको म्यादमा पनि निर्माणले पूर्णता नपाउने देखिएको छ ।

 

अघिल्लो वर्षको मंसिरमा काम सक्ने गरी जिम्मेवारी पाएको निर्माण कम्पनीले समयमा काम नसकेपछि १५ वैशाख ०७१ सम्म म्याद थपेको थियो । लकडाउनलगायतका कारण देखाएर निर्माण नसकेपछि पुनः  कात्तिक मसान्तसम्मका लागि म्याद थप भएको थियो । 

 

‘अहिलेकै अवस्थामा काम चले मंसिरभित्र सकिएला,’ बाग्लुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माले भने, ‘मंसिरमा काम सकियो भने पनि हाम्रा लागि खुसीको कुरा हो । काम छिटो सक्न ताकेता गरिरहेका छौं ।’

 

टर्मिनल भवनको काम लगभग अन्तिम चरणमा पुगे पनि भवनमाथि ट्रस बनाउने, ढालन, पिच र रंगरोगनलगायतका काम सुरु नै भएको छैन । 

 

दसैं–तिहारजस्ता पर्वका कारण काममा प्रभाव परे मंसिरसम्म पनि भौतिक प्रगति नहुने उनले बताए । ‘निर्माण कम्पनीले मजदुर बिदामा राख्ने भनेको छ । सरासर काम भयो भने मात्रै मंसिरमा सकिन्छ,’ शर्माले भने, ‘कहिले लगत स्टमेटले समस्या ल्यायो, कहिले कोरोना समस्या हुँदा समय घर्किरहेको छ ।’ 

 

कात्तिक मसान्तमा सकिने गरी कार्यपालिका बैठकबाट म्याद थपको निर्णय गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । आउँदो डिसेम्बरसम्म कम्पनीले काम सक्नैपर्ने उनको भनाइ छ ।

 

निर्माण कम्पनी आशीष, फेवा जेभीले पनि काम निरन्तर चलिरहेकाले मंसिरसम्म सम्पन्न हुने दाबी गरेको छ । ‘काम रोकिँदैन ।  गर्दागर्दै नसकिने कुरा अलग हो,’ निर्माण स्थलमा सुपरभाइजरको जिम्मेवारीमा रहेका प्रकाश पौडेलले भने, ‘अवरोध केही नभए अब धेरै काम बाँकी छैन ।’

 

स्थानीयले बसपार्क समयमा निर्माण नगरेको भन्दै बेलाबेला खबरदारीसमेत गर्दै आएका छन् । १ वर्षमा निर्माण सक्ने भनिए पनि विभिन्न वहानामा २ वर्षमा समेत नसकेको स्थानीय ईश्वरीप्रसाद उपाध्यायले बताए । ‘हामीले जग्गा दिएका छौं । बसपार्क बनेपछि बाँकी जग्गा फिर्ता हुने कुरा हो,’ उपाध्यायले भने, ‘पार्क बन्न ढिला हुँदा जग्गा फिर्ताको काममा पनि ढिलाइ हुन्छ ।’ 

 

बसपार्क बनाउन ऋण दिएको नगर विकास कोषले ६ महिना म्याद थपेर बसपार्क बनाउने बाटो खोलिदिएपछि नगरपालिकाले ठेकेदार कम्पनीलाई काम गर्न लगाएको थियो । कोषले दिएको म्याद भने आउँदो डिसेम्बरमा सकिँदै छ । 

 

बसपार्क निर्माणका लागि कुल १० करोड ४६ लाख ८७ हजार ५ सय रुपैयाँको लागत लाग्ने बताइएको छ ।

 

निर्माणाधीन बसपार्क धौलागिरिकै आधुनिक र सुविधासम्पन्न हुनेछ । बसपार्कसँगै टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी पार्कलगायतको संरचना निर्माणको चरणमा छन् । संरचनामध्ये भवनको रंगरोगन तथा बाहिरी संरचना निर्माण र पार्क व्यवस्थापनको काम बाँकी रहेको शर्माले बताए । 

 

आधुनिक बसपार्क निर्माण भएपछि कम्तीमा ६० वटा बस पार्किङ गर्न सकिने र साना सवारी साधनका लागि सहज पार्किङको व्यवस्था हुनेछ । पछिल्लो समय सवारी साधनको संख्या बढ्दै गएपछि पार्किङ साँघुरो भएको छ । 

 

जीप व्यवसायीले भने बानपा–२ मा भाडामा जग्गा लिएर सवारी पार्क गर्दै आएका छन् ।