close

धाराको टुटीले गिज्याइरहेछ नेपाल र फिनल्याण्ड सरकारलाई

पानी खान थालेको एक वर्षमै बन्द भयो आयोजना

धाराको टुटीले गिज्याइरहेछ नेपाल र फिनल्याण्ड सरकारलाई

पानी खान थालेको एक वर्षमै बन्द भयो आयोजना

Trulli
ADVERTISEMENT

अर्घाखाँची–  मालारानी गाउँपालिका वडा– ६ का ५० वर्षीया सीता अधिकारीलाई गत वर्ष घरमा धारा खस्दा खुसीको सीमा रहेन । चुनावका बेला भोट माग्न आउँदा पानी ल्याउने जनप्रतिनिधिको प्रतिबद्धता कार्यान्वयन भयो । सबै वडाबासीले खानेपानी सुविधा पनि पाए । 

 

तर, निर्माण सम्पन्न आयोजनाको महसुल तिर्न नसक्दा १ वर्षमै आयोजना बन्द भएको छ ।

 

सीता जस्तै मालारानी गाउँपालिका वडा– ६ लोहरी गाउँका १५३ घरपरिवारको खुसी एक वर्ष पनि टिक्न सकेन । खानेपानी उपभोक्ता समितिले समयमा विद्युत् महसुल तिर्न नसक्दा लाइन काटिएपछि खानेपानी आयोजना बन्द भएको छ ।

 

नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची शाखामा २ लाख ७ हजार ५ सय १८ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । एक वर्ष पहिले प्रतियुनिट ७ रुपैयाँ ३० पैसा र २ सय ३० रुपैयाँ डिमान्ड चार्ज तिर्नुपर्ने भए पनि यस आर्थिक वर्षदेखि प्रतियुनिट ४ रुपैयाँ मात्र भुक्तान गरे पुग्ने सरकारले निर्णय गरेको छ । 

 

गत वर्ष पश्चिम नेपाल ग्रामीण खानेपानी विकास परियोजनाअन्तर्गत नेपाल सरकारको ३८ लाख ७१ हजार ९ सय ४७, फिनल्यान्ड सरकारको ३८ लाख ७१ हजार ९ सय ४७ , उपभोक्ताको लगानी १ लाख २७ हजार ८ सय, मालारानीको ७ लाख ६६ हजार ८ सय ५, जिल्ला समन्वय समितिको ५ लाख ११ हजार २ सय ३ र जनश्रमदानबापत ३ लाख ६३ हजार ३ सय ८२ रुपैयाँको आर्थिक सहयोग गरी १ करोड २७ लाख ८० हजार ८७ रुपैयाँमा खानेपानी सुचारु भएको थियो ।

 

आयोजना बन्द भएपछि अहिले उक्त क्षेत्रका बासिन्दाले घन्टांै लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको स्थानीय दामोदर अधिकारी बताउँछन् । ‘हामीले तोकिएको पानीको महसुल तिरेका थियांै । १ वर्षसम्म त सजिलो भएको थियो । अहिले घन्टांै हिँडेर पानी बोक्नु परेको छ ।’

 

मेहलपानी विद्युत् लिप्mट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष दुर्गाबहादुर राउत क्षेत्री उपभोक्ताले न्यूनतम मूल्यत नतिर्दा खानेपानी आयोजना सञ्चालन गर्न नसकिएको बताउँछन् । ‘केही टोलले न्यूनतम शुल्कसमेत नतिरेका कारण समस्या भएको छ । न्यूनतम ३ सय रुपैयाँ तोकिएकामा उपभोक्ताले तिर्न नसक्ने अवस्था भयो । हामीले पालिकामा सोलार सिस्टमको माग गरेका छांै,’ राउत क्षेत्रीले भने ।

 

खानेपानी मर्मतका लागी वडा र गाउँपालिकाबाट समेत बजेट विनियोजन भए पनि खानेपानी समितिले कार्यान्वयन नगरेको वडाध्यक्ष नारायणप्रसाद अर्यालले जानकारी दिए ।

 

‘पालिका र वडाबाट रकम विनियोजन भएको थियो तर कार्यान्वयन भएन । सँगै जोडिएको झिमरुक गाउँपालिका वडा–१ मा रहेका ३ घरधुरीलाई धारा जडान गरेबापत २ लाख ५० हजार रुपैयाँ झिमरुकले नै दिने भने पनि समितिले चासो नदिँदा समस्या भयो,’ अर्यालले भने ।

 

समुदाय स्तरबाट माग भएअनुसार स्थानीय तहले आवश्यक सहयोग गरेर योजना सम्पन्न गरे पनि पानी नै आउन छाडेपछि दु.ख लागेको मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

 

‘योजना सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरेपछि स्थानीयले नै निरन्तरता दिनुपर्ने हो । हामीले पालिकाबासीलाई सहज होस् भनेरै सामुदायिक खानेपानीको विद्युत् महसुलमा छुट दिने गरी बजेट विनियोजन गरेका छौं । खानेपानी आयोजना सञ्चालन गर्न पालिकाले सक्दो प्रयास गर्नेछ,’ अध्यक्ष आचार्यले भने ।