close

लुम्बिनी पुग्ने पर्यटक तान्ने प्रयासमा सैनामैना, पूर्वाधारमा ५५ करोड लगानी

लुम्बिनी पुग्ने पर्यटक तान्ने प्रयासमा सैनामैना, पूर्वाधारमा ५५ करोड लगानी

Trulli
ADVERTISEMENT

रुपन्देही–  सैनामैना नगरपालिकाले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न पार्क, पिकनिक स्पट, स्विमिङ पोखरी र वनवाटिका पार्क निर्माण सुरु भएका छन् ।

 

सैनामैनालाई पर्यटन गन्तव्यमार्फत नेपालभर चिनाउने उद्देश्यले नगरपालिकाले पूर्वाधार निर्माण सुरु गरेको हो ।

 

करिब ५५ करोडको लगानीमा उक्त पूर्वाधार निर्माण सुरु गरिएको नगरपालिकाले जनाएको छ । सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्की भन्छन्, ‘नगरपालिकामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नगरभित्र संरक्षण क्षेत्र, पार्क, पिकनिक स्पट, वनवाटिकालगायत पर्यटन सम्बद्ध क्षेत्रलाई विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण सुरु गरेका हौं’, नगरप्रमुख कार्कीले भने ।

 

नगरपालिकाले अहिले पर्यटन क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माण गर्न डिपीआर तयार गरेर काम अघि बढाएको उनले जानकारी दिए । ‘ठूलो लगानीमा गर्नुपर्ने भएकाले संघ, प्रदेश र नगरपालिकाको संयुक्त लगानीमा काम गर्न डिपीआर तयार गरेका हौं । नगरपालिका एक्लैले गर्ने अवस्था छैन’, कार्कीले भने ।

 

नगरपालिकामा यी पूर्वाधार बनेपछि आर्थिक र पर्यटनका लागि सैनामैना  हेर्ने र घुम्नलायक हुने उनले दाबी गरे । लुम्बिनी आउने पर्यटकलाई पनि सैनामैनाका पर्यटन गन्तव्यले आकर्षित गर्ने सक्ने कार्कीको विश्वास छ ।

 

सैनामैना नगरपालिका वडा– ११ मा  १३ करोेड ६५ लाख लगानीमा बन्ने चिल्डेन पार्कको डिपीआर नगरपालिकाले तयार गरेको छ । प्रदेश, संघ र नगरपालिकाको  आर्थिक सहयोगमा यो पार्क बनाउने गरी काम अघि बढाइएको नगरप्रमुख कार्कीले जानकारी दिए । ‘यस्ता पार्क बनेपछि सधैं मोबाइलमा व्यस्त रहने बच्चाबच्चीको आदत छुटाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं’, कार्कीको कथन छ ।

 

राजपानी बहुउद्देश्य ड्याम सैनामैना नगरपालिका वडा–११ मा १५ करोडको लगानीमा निर्माण गरिन लागेको हो । ड्यामको संकलित पानीमा माछापालन र पौडी खेल्ने सुविधासमेत रहने नगरप्रमुख कार्कीले बताए ।

 

‘लुम्बिनी आउने पर्यटकलाई यो क्षेत्र आउन सहज हुनेछ । नगरलाई पर्यटन हब बनाउन सबै पूर्वाधारको डिपीआर तयार गरिएको छ । नगरपालिका, प्रदेश र संघीय सरकारको आर्थिक लगानीमा सबै पूर्वाधार निर्माण गर्ने गरी काम अगाडि बढेका छन्’, नगरप्रमुख कार्कीले भने । 

 

कलिरह पिकनिक स्पोट ८ करोड १० लाखको लगानीमा २४ सय स्क्वायर मिटरभित्र बनाइनेछ । यो स्थान अहिले पनि पर्यटन गन्तव्य रहेकाले पिकनिक स्पोट बनाएपछि झनै आगन्तुक ओइरिने नगर उपप्रमुख बिना रानाले बताइन् ।

 

‘कालिरह पिकनिक स्पोट बनाउन नगरपालिकाले डिपीआर बनाइसकेको छ’, रानाले भनिन्, ‘संघ, प्रदेश र नगरपालिकाको लगानीमा बनाउँदै छौं ।’ पिकनिक पारखीलाई सुन्दर । मनमोहक स्थानमा पार्क बनेपछि यो क्षेत्रमा चहलपहल बढ्ने अपेक्षा गरिएको रानाले बताइन् ।

 

पानवारी सीमसार संरक्षण तथा पर्यटकीय क्षेत्र सैनामैना नगरपालिका वडा–१० मा निर्माण गरिनेछ । यसका लागि ११ करोड ५८ लाख बजेट आवश्यक पर्ने उपप्रमुख रानाले जानकारी दिइन् ।

 

‘सीमसार क्षेत्रको संरक्षण गरेर पर्यटकीय स्थलको रुपमा अघि बढाउने योजना साथ काम भइरहेको छ’, नगरप्रमुख कार्कीले भने । 

 

नगरपालिका, संघ र प्रदेशको लगानीमा सीमसार क्षेत्र निर्माण गरिने उनले बताए । यसका अलावा सैनामैनामा पश्चिम क्षेत्रकै पशुपति भनेर परिचित बोलबम धाम पनि पर्छ । बुद्धकालीन  अवस्था भग्नावशेष रहेको पोखरी र मूर्तिसमेत यस क्षेत्रमा छन् ।

 

नगरपालिकामा मैहरमाईलगायत देवीको मन्दिर पनि  चर्चित छन् । यी सबैको संरक्षण र प्रचार–प्रसार गर्नु  नगरपालिकाको उद्देश्य रहेको कार्कीले बताए । 

 

शिक्षक सूर्यप्रकाश भुसाल भन्छन्, ‘स्थानीय सरकार आएपछि धेरै कुराको विकास सुरु भएको छ । कृषकको स्तरोन्नतिका लागि पूर्वाधार सडक, बिजुली, खानेपानी सबैको काम सुरु भएकोे  छ ।’