close

ह्वात्तै बढ्यो जुम्लाको कोरोना ग्राफ

ह्वात्तै बढ्यो जुम्लाको कोरोना ग्राफ

Trulli
ADVERTISEMENT

जुम्ला– दोस्रो पटक कोरोना शून्य भएको जुम्लामा संक्रमण दर बढेसँगै सन्त्रास थपिएको छ । स्थानीयले सुरक्षा सतर्कता नअपनाउँदा कोरोना संक्रमण झनै बढेको हो ।


जुम्लाका विशेषज्ञ चिकित्सकसहितका व्यक्तिमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको छ । जिल्लामा १२ साउनमा पहिलो पटक कोरोना संक्रमित शून्य भएको थियो । त्यसैगरी १४ असोजमा पनि सबै संक्रमित निको भएपछि दोस्रो पटक पुनः संक्रमण शून्य भएको थियो ।


प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार कोरोनालाई यहाँ रुघाखोकीको संज्ञा दिइएको छ । संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निषेधाज्ञा लगाइँदा आलोचना खेप्नु परेको प्रजिअ थापाको अनुभव छ ।


गत चैतयता जुम्लामा संक्रमित हुनेको संख्या ३ सय ३० पुगेको छ । बुधबारसम्म ४८ सक्रिय संक्रमित छन् । जिल्लाका ८ स्थानीय तहमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ३१ संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।


सदरमुकाम खलंगाको चन्दननाथ नगरपालिकामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको उपचार हुने गरेको छ । अस्पतालका विशेषज्ञ चिकित्सकसमेत संक्रमित भइसकेका छन् ।


२ सय ८२ निको भएर घर फर्किसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनका अनुसार सक्रिय संक्रमित ५ आइसोलेसनमा र ४३ होम आइसोलेसनमा बसेका छन् ।


गत चैतयता यहाँका १० हजार ७ सय ९२ जनाको आरडिटी र पिसीआर परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।


लकडाउन भएयता भारत तथा तेस्रो मुलुकबाट १ हजार १ सय ७२ र मलेसिया, कतारलगायत मुलुकबाट ३२ जना मात्रै गृहजिल्ला जुम्ला प्रवेश गरेको प्रशासनको तथ्यांक छ ।

आइसियु शैया १० मात्रै


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आइसियु १० शैया मात्रको छ । प्रतिष्ठानमै साधारण आइसोलेसन भने १ सय २० शैयाको छ ।


यहाँका ८ स्थानीय तह र नेपाली सेनाका ब्यारेकमा १५ देखि ५० शैयाम्म गरी जुम्लामा जम्मा ४ सय ४५ शैयाका आइसोलेसन सेन्टर रहेको स्थानीय प्रशासनले बताएको छ ।


थप आइसियु र भेन्टिलेटर कर्णाली प्रदेश सरकार र संघीय सरकारसँग माग गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।