close

वडा अध्यक्षकी छोरी जिस्क्याउनेलाई जुत्ताको माला !

वडा अध्यक्षकी छोरी जिस्क्याउनेलाई जुत्ताको माला !

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको मर्चवारको सम्मरीमाई गाउँपालिका- ६ का वडा अध्यक्ष सत्यनारायण केवटले आफ्नी छोरी जिस्क्याएको निहुँमा एक युवालाई चरम यातना दिएका छन् । उनले छोरीलाई जिस्क्याएको भन्दै एक युवालाई कालोमोसो दलेर यातना दिएका मात्र छैनन् जुत्ताको माला लगाएर पिट्दै गाउँ घुमाएका स्थानीयले बताएका छन् ।


सम्मरीमाई गाउँपालिका- ६ पचपेडवाका २२ वर्षीय बब्लु केवटले छोरी जिस्क्याएको भन्दै वडा अध्यक्षले यस्तो यातना दिएका हुन् । वडा अध्यक्षले आफ्नो पदको दुरूपयोग गर्दै आफैँ युवकलाई सजाय दिँदा नजिकै रहेको प्रहरीलाई भने यसबारे जानकारी नै थिएन ।


स्थानीयहरूले प्रहरीलाई जानकारी दिएपछि मात्र युवकको उद्धार गरिएको थियो । इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक अमृत भण्डारीले वडा अध्यक्ष सत्यनारायण केवट र युवक बब्लु केवटलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा ल्याई उपचारका लागी युवकलाई भीम अस्पतालमा  पठाएको बताए । घटनाको अहिलेसम्म कुनै उजुरी नआएको प्रहरी निरीक्षक भण्डारीले बताए ।


दुवैलाई आवश्यक परे सम्पर्कमा आउने गरी प्रहरीले छाडेको छ । रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा दण्डहीनता बढ्दै गएको छ । सुरक्षाकर्मीको उपस्थिति रहेको ठाउँमै स्थानीयहरू आफैँ दण्ड दिन उद्यत हुँदा कानुनी राज्यको उपहास भएको स्थानीयको गुनासो छ ।


केही समय पहिला प्रेम सम्बन्ध रहेको आरोपमा परिवारद्वारा निर्घात कुटिएकी किशोरीको घटना सेलाउन नपाउँदै अहिले फेरि मर्चवारका स्थानीय जनप्रतिनिधिले कानुनको बेवास्ता गर्दै आफैँ सजाय दिन थालेका छन् ।