close

उपेक्षामा कंके देउराली: ठूलो आस, सुस्त विकास

उपेक्षामा कंके देउराली: ठूलो आस, सुस्त विकास

Trulli
ADVERTISEMENT

गुल्मी- कंके देउराली मदाने गाउँपालिकाको अत्यन्तै मनमोहक पर्यटकीय स्थल हो । करिव आठ हेक्टर क्षेत्रफलमा फैलिएको कंके देउराली प्राकृतिक रूपमा निकै आकर्षक रहेको छ ।


गुल्मीसहित अर्घाखाँची, प्युठान, रुकुम र रोल्पाको समेत दृश्यावलोकन गर्न सकिने भएकाले कंके देउराली आन्तरिक तथा बाह्य पर्यटकका लागि राम्रो गन्तव्य बन्ने धुर्कोट गाउँपालिका- १ नयाँगाउँका नारायण कुँवरले बताए । उनले अहिलेसम्म तीनवटै सरकारले कंके देउरालीलाई सोचेअनुसारको विकास गर्न नसकेको गुनासो पनि गरे ।


यस क्षेत्रमा मुख्य गरेर सेतो बरुवा, टिमुर, बोझो, निमपत्ता, आकाशबेली, सुगन्ध कोकिल जस्ता जडीबुटीहरू पाइने गर्छन् । लालीगुराँस, सेतो गुराँस, रक्तचन्दन, कटुस, धुपी सल्लालगायतका वनस्पतिहरू पनि यहाँ प्रशस्त पाइन्छन् ।


कंके देउराली प्राकृतिक रूपमा मात्र नभएर धार्मिक रूपमा पनि प्रख्यात ठाउँ हो । मदाने गाउँपालिकाका अधिकांश नागरिकहरूले गाईको दूध धार दिने, नयाँ बाली देउरालीलाई चढाएर मात्र खाने हुनाले यस ठाउँको महत्त्व बढी छ । वरिपरिका बासिन्दाहरूले आस्थाको केन्द्रका रूपमा पनि लिने गरेका छन् ।


मदाने गाउँपालिका- ६ पुर्कोटदहका भोजबहादुर कुँवरले जमानामा धेरै गाई पाल्ने र एउटा गाईले देउरालीमा दूध बगाउने गरेकाले पछि पनि स्थानीयले दूध चढाउँदै आएको बताए । उनले देउराली धार्मिक एवं प्राकृतिक दृष्टिकोणले निकै सुन्दर र विचित्रको भए पनि समयअनुसारको विकास नभएको गुनासो गरे ।


स्थानीय सरकारको गठनसँगै कंके देउरालीको विकासमा केही नयाँ आशा जागेका छन् । स्थानीय तहको निर्वाचनपछि कंके देउरालीमा सडक, मन्दिर र आकर्षक सिँढी निर्माणलगायतका संरचना निर्माणको काम भइरहेको छ ।


कंके देउरालीको थप विकासका लागि गाउँपालिकाले गुरुयोजना निर्माण गरेको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन् । देउरालीको थप पर्यटन प्रवद्र्धन गर्न गुहारी खोलामा बाँध बाँधेर कृत्रिम ताल निर्माणको काम अगाडि बढेको छ । यस वर्ष करिव एक करोड रुपैयाँको काम हुने उनको भनाइ छ ।


बाँध निर्माणको काम सोचेअनुसार अगाडि बढे पश्चिम क्षेत्रको उत्कृष्ट पर्यटकीय गन्तव्य कंके देउराली बन्ने विश्वास रहेको खड्काले बताइन् ।


यो पर्यटकीय क्षेत्र सालझण्डी-ढोरपाटन सडकखण्ड नजिकै पर्छ । तर, देउराली आसपास पुर्कोटदहमा कुनै राम्रा होटल, रेष्स्टुरेन्टलगायतका आवासीय संरचना छैनन्, जसका कारण अहिले देउरालीको दर्शन र पूजाआजामा आउने भक्तजन, भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको खानपान, बसोवास तथा मनोरञ्जनको सुविधा छैन ।


कंके देउरालीको समुचित विकास गर्न सके मदाने गाउँपालिकाको मुख्य आम्दानीको स्रोत बन्नेमा दुई मत नभए पनि ठोस विकास नहुनु दुर्भाग्य भएको स्थानीयसमेत रहेका मदाने गाउँपालिकाका सूचना अधिकारी क्रृषिराम पोख्रेलले बताए । उनले गाउँपालिकाको बीच भागबाट तराई र पहाड जोड्ने उत्तर-दक्षिण सालझण्डी-ढोरपाटन सडकखण्ड भएकाले आर्थिक समृद्धिका लागि कृषि तथा पशुपालनसँगै पर्यटनलाई अगाडि बढाउनुपर्नेमा पोख्रेलले जोड दिए ।