close

अक्करे पहाड छिचोलेर विकट मुदीमा गुड्ने भए मोटर

अक्करे पहाड छिचोलेर विकट मुदीमा गुड्ने भए मोटर

Trulli
ADVERTISEMENT

म्याग्दी- भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका- ४ मुदीमा सडक पुगेको छ । गाउँपालिकाको केन्द्र मुनाको फलियागाउँदेखि दर हुँदै मुदी जोड्ने सडक निर्माण गरेर यातायात सञ्चालन गरिएको हो ।


मुना र मुदीको सिमानामा पर्ने सिमबाङको अक्करे पहाड छिचोलेर सडक खनिएको छ । तल दर र म्याग्दी खोलाको तीर, माथि हेर्दा टोपी खस्ने अप्ठ्यारो भिरको बीचमा सडक खनेर सरर गाडी चल्न थालेपछि मुदीवासीमा खुसियाली छाएको छ ।

 

सडक निर्माण भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । मुदीका विजय घर्तीमगरले यातायातका साधन चल्न थालेपछि यात्राको अवधि छोटिएको, ढुवानी भाडा घटेको र आवतजावतमा सहज भएको बताए ।

 

‘मुदीबाट मुना पुग्न अप्ठ्यारो भिर र खोल्साको बाटो डेढ घण्टा पैदल हिँड्नुपर्थ्यो’, उनले भने, ‘गाडी चढेर २० मिनेटमै पुगिन्छ । बिरामीलाई गाडीबाटै समयमै अस्पताल पुर्‍याउन सजिलो भएको छ ।’

 

गत असार महिनामा मार्ग खोलिएको सडकमा खसेको पहिरो पन्छाएपछि यसै महिनादेखि जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । यसअघि घोडा, खच्चर र भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महँगो परेको थियो । मुदी म्याग्दीको जडिबुटीको भण्डार मानिन्छ । कृषकले पालेका खसी-बोका बजार पठाउन पनि अब सजिलो भएको छ ।


यसबाट मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोसका करिब एक हजार घरधुरी लाभान्वित भएका वडा अध्यक्ष बेगप्रसाद घर्तीमगरले बताए । २०७३ सालमा निर्माण सुरु भएको फलियागाउँदेखि मुदीसम्मको सडकको दूरी करिब छ किलोमिटर छ । बस चलाउन मिल्ने गरी सडक छ मिटर फराकिलो बनाइएको छ ।

 

अधिकांश ठाउँमा पहाड फुटाएर सडक निर्माण गर्न तीन करोड रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ मा तत्कालीन जिल्ला विकास समितिले ४२ लाख र राष्ट्रिय योजना आयोगले ४० लाख रुपैयाँ खर्चेर दरसम्म ट्र्याक खोलेका थिए ।

 

२०७४ सालमा गाउँपालिकाले विनियोजन गरेको ९० लाख रुपैयाँबाट सिमबाङको फाँटसम्म सडक पुर्‍याइएको थियो । २०७५ सालमा गाउँपालिकाको ६५ लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत २३ लाख रुपैयाँ खर्च भएको थियो ।


आर्थिक वर्ष २०७६/०७७ मा ४५ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थापा निर्माण सेवाले एक किलोमिटर ३०० मिटर नयाँ सडक खनेको थियो । बाह्रै महिना यातायात सञ्चालनका लागि दरखोलामा मोटरेबल पुल निर्माण गर्न संघीय सरकारबाट बजेट विनियोजन भएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।


सातवटा वडा रहेको धवलागिरिको वडा नं.- ५ मल्कवाङमा पूर्वाधार विकास कार्यालयले यसै वर्ष सडक पुर्‍याएको छ । वडा नं.- २ मा पर्ने खोरियाको भूगोलमा सडक खने पनि महतलाको भिरमा ट्र्याक खन्न बाँकी भएकाले यातायात सञ्चालन हुन सकेको छैन । खोरिया र लमसुङ तथा लुलाङका बासिन्दाबीच कताबाट सडक खन्ने भन्ने विषयमा विवाद हुँदा गत वर्ष एक करोड ५० लाख रुपैयाँमा ठेक्का लागेको योजनाको काम भएन ।

 

मराङ, ताकम र मुनामा यसअघि नै सडक पुगेको थियो । वडा नं.- १ गुर्जामा गत वर्ष ४५ लाख रुपैयाँ विनियोजन गरेर सुरु गरेको आन्तरिक सडक निर्माण योजनालाई यस वर्ष २० लाख रुपैयाँ विनियोजन गरेर निरन्तरता दिएको गाउँपालिकाका उपाध्यक्ष छन्त्यालले बताए ।