close

स्थानीय तहको पहिलो प्राथमिकतामा कृषि तर किसानले पाउँदैनन् बिउ

स्थानीय तहको पहिलो प्राथमिकतामा कृषि तर किसानले पाउँदैनन् बिउ

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- जिल्लाको त्रिवेणी गाउँपालिका- १० मा रहेको हाम्रो सारथि कृषि सहकारी संस्थाले सहकारीमा आवद्ध कृषकका लागि गहुँको बिउ उपलब्ध गराउन गाउँपालिकाको कृषि शाखामा सम्पर्क गर्‍यो ।


सहकारीले कृषि शाखालाई ५० प्रतिशत अनुदानमा २० क्विन्टल बिउ माग गरे पनि पाउन सकेन ।


गाउँमा गहुँ लगाउने बेला किसानले मागअनुसार बिउ पाउन सकेनन् । जिल्लाका केही किसानले गहुँ लगाइसकेका छन् भने केही लगाउने तरखरमा छन् । सारथि सहकारीमा आवद्ध कृषकलाई उन्नत जातको बिउ वितरण गरेर राम्रो गहुँ फसलको उत्पादन बढाउने योजनामा थियो ।


‘गाउँपालिकाको कृषि शाखामा गहुँको मूल बिउ मागेका थियौँ तर किसानले मागअनुसार पाउन सकेका छैनन्’, सरकारीका अध्यक्ष धनराज खड्काले भने, ‘गाउँपालिकाको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा रहेको कृषिको कुरा कागजमा सीमित भयो ।’


उक्त सहकारीले गाउँपालिकामा रहेको कृषि शाखालाई २० क्विन्टल बिउ मागेको थियो । कृषि शाखाले भने १० क्विन्टल बिउ मात्र उपलब्ध गराएको छ ।


जिल्लामा बिउ उत्पादन राम्रो हुने गरेको छ तर तरकारीको तुलनामा खाद्य बालीको बिउ उत्पादन कम हुने भएकाले सधैँ हाहाकार देखिने गरेको बिउ उत्पादक कृषक बताउँछन् ।


सहकारीमा आवद्धले मात्र नभई सर्वसाधारण कृषकले पनि गहुँ लगाउने समय हुँदा बिउ नपाएको गुनासो गरिरहेका हुन्छन् । जिल्लामा खपत हुने केही बिउ जिल्लामै उत्पादन हुने गरे पनि मूल्य राम्रो पाउँदा बाहिरी जिल्ला जाने गरेको छ ।


स्थानीय तहमा रहेका कृषि शाखाहरूले किसानका लागि बिउ ल्याउने पहल गरे पनि नपाउँदा उपलब्ध गराउन नसकिएको बताउँदै आएका छन् । गत वर्ष हिउँदमा धेरै पानी परेका कारण गहुँ उत्पादन हुन नसक्दा यो वर्ष बिउ अभाव देखिएको त्रिवेणी गाउँपालिकाको कृषि शाखाका कृषि नायव प्राविधिक सहायक कमल खड्काले बताए ।


जिल्लामा गहुँको बिउ उत्पादनमा कमी आएको किसान बताउँछन् । तरकारी बिउ उत्पादनमा अब्बल जिल्लामा अन्नबालीको बिउ उत्पादन भने खासै हुने गरेको छैन । जिल्लालाई पुग्ने अन्नबालीको बिउ उत्पादन गर्न जिल्ला कृषि कार्यालयले कार्यक्रम ल्याएको बताउँदै आएको छ । कृषि कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसी जिल्लाको मुसिकोट नगरपालिका वडा १३ र ४ का कृषकले मात्र खाद्यान्नको बिउ उत्पादन गर्दै आएको बताउँछन् ।


‘जिल्लामा अहिले ५० क्विन्टल मात्र गहुँको बिउ उत्पादन हुने गरेको तथ्यांक छ तर मागअनुसार किसानलाई पुग्दैन’, केसीले भने ।


कृषि कार्यालयले यस वर्षदेखि बीज वृद्धिका कार्यक्रम ल्याएकाले अब किसानलाई बिउ अभाव हुन नदिइने केसीको दाबी छ ।


जिल्लामा अन्नबालीको मूल बिउ र उन्नत बिउ उत्पादन गर्न विभिन्न संघसंस्थाले कार्यक्रम पनि चलाइरहेका छन् । तर, कार्यक्रम सकिएपछि स्थानीय सरकारले उत्पादनमा चासो नदिँदा बिउ अभाव भएको सरोकारवालाको बुझाइ छ ।