close

बाँसगढीको चक्रपथ निर्माण योजना अधुरै

बाँसगढीको चक्रपथ निर्माण योजना अधुरै

Trulli
ADVERTISEMENT

बर्दिया- बर्दियाको बाँसगढी नगरपालिकाले नगरवासीलाई सडक यातायातमा सहज पहँुच पुर्‍याएर गाउँलाई नगरसम्म जोड्ने महत्त्वाकांक्षी चक्रपथ निर्माण योजना अलपत्र परेको छ ।


योजनाको डीपीआर तयार भएलगत्तै पालिकाले चक्रपथ निर्माणको काम सुरु गरेको थियो । तर, चक्रपथ निर्माणको कामले गति लिन नपाउँदै अहिले काममा बाधा भएको छ । नगरलाई सडक सञ्जालले घेर्ने योजना अलपत्र परेको हो ।


नगरमा चक्रपथ निर्माण गरेर नगरवासीलाई सडक यातायातमा पहुँच पुर्‍याई किसानद्वारा उत्पादित वस्तु  बजारमा बिक्री गरेर तिनको जीवनस्तर सुधार्ने नगरपालिकाको योजना थियो ।


चक्रपथ निर्माणको गुरुयोजनाअनुसार तयार पारिएको डीपीआरबमोजिम बजेट प्राप्त नहुँदा योजना अलपत्र परेको हो । नगरमा चक्रपथ निर्माणको गुरुयोजना शहरी विकास मन्त्रलायले तयार पारेको थियो । पालिकाले शहरी विकास मन्त्रालयसँगको साझेदारीमा चक्रपथ निर्माण अघि बढाएको थियो ।


तर, अहिले सहरी विकास मन्त्रालयले सम्झौताअनुसारको रकम नदिँदा नगरमा चक्रपथको योजनाले पूर्णता पाउन सकेको छैन । चक्रपथ निर्माण योजनाको काम बीचमै रोकिएपछि नगरवासी निराश भएका छन् ।


नगरको योजनामा चक्रपथको लम्बाइ ४२ किलोमिटर छ । शहरी विकास मन्त्रालयसँग ४२ किलोमिटर सडकलाई तीन खण्डमा बाँडेर निर्माण गर्ने सहमति भएको थियो । यसमा एक खण्ड नगरपालिकाले र बाँकी दुई खण्ड शहरी विकास मन्त्रालयले निर्माण गर्ने सम्झौता थियो ।


सहमतिअनुसार नगरपालिकाले नगरको उत्तर भकारीबाट चक्रपथ निर्माण सुरु गरेको थियो । उक्त स्थानमा हालसम्म नगरपालिकाले चक्रपथको करिब ८०० मिटर मात्र निर्माण सम्पन्न गरेको छ ।


शहरी विकास मन्त्रालयले नगरपालिकाको वडा- ९ बाट निर्माण सुरु गरे पनि अहिले दुवै खण्डको काम रोकिएको छ ।


मन्त्रालयले नगरमा ठूला योजना छनोट गर्न भनेपछि बाँसगढीले चक्रपथ योजना छनोट गरेको थियो । काम सुरु भएलगत्तै अहिले मन्त्रालयले नै आवश्यक बजेट नदिँदा चक्रपथ निर्माण बीचमै अलपत्र परेको हो ।


चक्रपथ निर्माण सुचारु गर्न नगरपालिकाले यतिखेर सहरी विकास मन्त्रालयसँग हारगुहार गरिरहेको छ । मन्त्रालयले भने एसियाली विकास बैंकले दिने सहयोग रोकिएकाले आवश्यक बजेट निकासा गर्न नसकेको बताउँदै आएको छ ।


एसियाली विकास बैंकबाट सहयोग पाउने भएपछि सहरी विकास मन्त्रालयले नै बाँसगढीलाई चक्रपथ निर्माण योजना छनोट गर्न उक्साएको थियो । अहिले एसियाली विकास बैंकले सहयोग रोकेको भन्दै शहरी विकास मन्त्रालय तर्किन थालेको छ ।


चक्रपथ निर्माणलाई अघि बढाउन मन्त्रालयसँग आफूहरू नियमित समन्वय र सम्पर्कमा रहेको बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारी बताउँछन् । चक्रपथ निर्माण योजना नगरपालिका र स्थानीयले स्थानीय स्तरमा उत्पादन गरेको वस्तु बजार पुर्‍याउन महत्त्वपूर्ण मार्गको रुपमा रहेको नगरपालिकाको भनाइ छ ।