close

सामुदायिक विद्यालको नमुना अभ्यास : अनलाइनबाट परीक्षा सञ्चालन र नृत्य प्रतियोगिता

सामुदायिक विद्यालको नमुना अभ्यास : अनलाइनबाट परीक्षा सञ्चालन र नृत्य प्रतियोगिता

Trulli
ADVERTISEMENT

अर्घाखाँची- बिहान ९ बजेदेखि नै जुममा शिक्षक, शिक्षिकालाई प्रश्न गर्न र पढ्न कक्षा १० मा पढ्ने विद्यार्थी विपना खत्रीलाई हतार हुन्छ । मोबाइलबाट जुममा शिक्षक तथा शिक्षिकाहरूले पढाउने हुँदा विपनालाई फुर्सद नै हुँदैन ।


लकडाउनको बेलामा घरमा बसेर गृहकार्य गर्न र शिक्षक, शिक्षिकालाई जानकारी गराउन पाउँदा खुसी लाग्ने विपनाले बताइन् । ‘बिहान ९ बजेदेखि नै कक्षा सुरु हुन्छ । सबै साथीहरूसँग जुममा भेट हुन्छ । हामीले छलफल गर्दै पढ्ने गर्छौं । दिउँसो रेडियोबाट समेत कक्षा हुने हुँदा रेडियो सुन्ने र नजानेका विषयहरू सर र मिसलाई सोध्ने गर्छौं’, उनले भनिन्, ‘अनलाइनबाट परीक्षासमेत भयो । नृत्य र कविता प्रतियोगिता पनि हुने गरेको छ ।’


लकडाउनको समयमा पनि विद्यार्थीहरूले घरमै बसेर पढ्ने वातावरण सिर्जना गरेकोमा खुसी लागेको अभिभावक पदम खत्रीले बताए । ‘कोरोनाले छोरी विद्यालय जान पाएकी थिइन । शिक्षक  घरमै आएर अब अनलाइनबाट पढ्नुपर्ने भयो भनेर सिकाएर जानुभयो । अहिले त परीक्षासमेत अनलाइनबाट भयो, हामी  खुसी छौँ ।’


कोरोना महामारीका कारण आठ महिनादेखि सामुदायिक विद्यायलयहरू पूर्ण रूपमा ठप्प रहेका छन् । तर, इच्छा शक्ति हुने हो भने सामुदायिक विद्यालयहरूले पनि प्रविधिको प्रयोग गरेर पठनपाठन गर्न सक्दा रहेछन् भन्ने उदाहरण मालारानी गाउँपालिकाको शान्ति माध्यमिक विद्यालयले दिएको छ ।


यस विद्यालयले अनलाइन माध्यमबाटै वैकल्पिक सिकाइको मापन गर्ने गरी परीक्षा सम्पन्न गरेको छ । प्रश्नपत्र घरघरमै पठाउने, अनलाइनबाटै विद्यार्थीले गरेको परीक्षाको अवलोकन गर्ने कार्यसमेत सम्पन्न गरेको विद्यायलका प्रधानाध्यापक मानबहादुर पाण्डेले बताए ।


‘हामीले घरलाई नै पाठशाला बनाएर अभिभावकहरूबीच छलफल गरी विद्यार्थीको पठनपाठन अगाडि बढाएका छौँ । अभिभावकले रेखदेख गर्ने गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई जुमबाट पठनपाठन गराएका छौँ’, उनले भने, ‘यस्तै अनलाईनबाटै कविता प्रतियोगिता र नृत्य प्रतियोगितासमेत सम्पन्न भएको छ ।’


उक्त विद्यालयमा अहिले प्राविधिक धारतर्फ कम्प्युटर शिक्षा सञ्चालन भएको छ । विद्यालयका सबै शिक्षकहरूलाई अनलाइन कक्षा सञ्चालनका लागि तालिमसमेत प्रदान गरिएको छ । विद्यालयले नेपाल टेलिकमलाई पत्राचार गरी विद्यार्थीको नाम र नम्बर रजिष्टर गरेर ई-शिक्षा प्याकेज लिएर सस्तोमा डाटा लिन पाइने व्यवस्था गरेको विद्यालयका प्राविधिक प्रमुख जीवन खनालले बताए ।


‘हामीले टेलिकमसँग सहकार्य गरेका छौँ । अभिभावकहरूलाई महँगो नपरोस् भनेर ३१५ रुपैयाँमा २४ जीबी डाटा पाइने प्याकेज एक्टिभ गरेका छौँ, जसलाई २८ दिनसम्म प्रयोग गर्न मिल्छ’, उनले भने ।


नयाँ प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकपलाप सञ्चालन गरेर नमुना कामको सुरुवात गरेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । ‘शान्ति माविले प्रविधिको प्रयोग गरी गाउँपालिकाभित्र नमुना काम सम्पन्न गरेको छ । अन्य विद्यालयहरूले समेत अनुसरण गरेर अगाडि बढ्नुपर्छ ।’