close

अस्पताल प्रशासनविरुद्ध आमरण अनशनको चेतावनी

अस्पताल प्रशासनविरुद्ध आमरण अनशनको चेतावनी

Trulli
ADVERTISEMENT

धनुषा–  जानकी मेडिकल शिक्षण अस्पताल रामदैयामा आन्दोलनरत कर्मचारीले आकस्मिक सेवा अवरुद्ध गर्नुका साथै आमरण अनशनमा बस्ने चेतावनी दिएका छन् ।


धनुषाको क्षीरेश्वर नगरपालिका–१ रमदैयामा अवस्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ महिनादेखि आन्दोलनरत कर्मचारीले माग पूरा नभएको भन्दै सत्याग्रहमा बस्ने चेतावनी दिएका हुन् ।


दसैं पेस्की, ८ महिनाको तलब, ६ वर्षदेखिको सञ्चय कोषलगायतका विभिन्न हिसाबकिताब माग्दै गत १२ असोजदेखि आन्दोलनरत कर्मचारी हकहित संरक्षण संघर्ष समितिले आन्दोलन गर्दै आएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय धनुषा र धनुषा प्रहरीको रोहवरमा भएको सहमति कार्यान्वयन नभएको भन्दै कर्मचारीले आकस्मिक सेवासमेत ठप्प पार्ने चेतावानी दिएका छन् ।


सहमति कार्यान्वयन गर्नुको साटो अस्पताल प्रशासनले समितिका संयोजक उमेश यादवसहित ५ जनालाई स्पष्टीकरण सोधेपछि आन्दोलित कर्मचारीले १ महिनादेखि अस्पतालको प्रशासन शाखा र ओपीडी कक्षमा तालाबन्दी गर्दै आएका छन् ।  समितिका संयोजक उमेश यादवले प्रहरी–प्रशासनले माग पूरा गराउने आश्वासन दिए पनि हालसम्म कार्यान्वयन नभएको गुनासो गरे ।


‘माग पूरा नभए १६ कात्तिकदेखि आमरण अनशन बस्ने कार्यक्रम तय भएको छ’, यादवले भने । यस विषयमा अस्पतालका वरिष्ठ प्रशासक डीएन झासँग प्रतिक्रिया लिन फोन सम्पर्कको प्रयास गर्दा पनि उनले फोनै उठाएनन् ।