close

मेरिङदेन बन्यो साक्षर पालिका

मेरिङदेन बन्यो साक्षर पालिका

Trulli
ADVERTISEMENT

ताप्लेजुङ–ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ ।  सरकारले तोकेका सबै मापदण्ड पूरा भएका कारण मेरिङदेनलाई साक्षर गाउँपालिका घोषणा गरिएको पालिकाले जानकारी दिएको छ । 


सरकारको साक्षर गाउँपालिका, नगरपालिका तथा जिल्ला घोषणाका लागि तयार गरिएको अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजीकरण पुस्तिका, २०७५ बमोजिम मेरिङदेनमा ९५ दशमलव ३९ प्रतिशत जनसंख्या साक्षर भएकाले साक्षर गाउँपालिका घोषणा गरिएको पालिकाका शिक्षा अधिकृत भीमप्रसाद पौडेल बताए ।


   
पौडेलका अनुसार गाउँपालिकाभरि १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ८ हजार ७९६ जनसंख्यामध्ये ८ हजार ३९१ साक्षर भई अहिले ४०५ जना मात्र निरक्षर रहेका छन् । निरक्षरताको प्रतिशत ४ दशमलव ६१ मात्र रहेको पौडेलले बताए ।

 

१५ वर्षदेखि ६० वर्ष उमेर समूहका ४ हजार १९० महिलामध्ये ३ हजार ८७६ अर्थात् ९२ दशमलव ९९ प्रतिशत साक्षर छन् । यस्तै, यो समूहका ४ हजार ६०६ पुरुषमध्ये ४ हजार ५२४ अर्थात् ९८ दशमलव २२ प्रतिशत साक्षर भएको गाउँपालिकाले जानकारी दिएको छ ।   

 

पालिकाले गत साउनसम्म संकलन गरेको तथ्यांकमा १५ देखि ६० वर्ष उमेर समूहका ५८० महिला र २४४ पुरुष गरी कुल ८२४ निरक्षर थिए । त्यस समय निरक्षरताको प्रतिशत ९ दशमलव ३७ प्रतिशत थियो ।


त्यस बेला यो समूहका ९० दशमलव ६३ प्रतिशत मात्र साक्षर देखिएका थिए । साउनदेखि पुससम्म ४ दशमलव ६१ प्रतिशत निरक्षरतामा झारेको गाउँपालिकाले बताएको छ ।