close

अब माथागढीका घरघरमै खानेपानी

अब माथागढीका घरघरमै खानेपानी

Trulli
ADVERTISEMENT

पाल्पा- माथागढी गाउँपालिका- १ चिदीपानीका बासिन्दाको घर आँगनमा खानेपानीका धारा आएपछि दैनिकी फेरिएको छ । दुई किलोमिटर उकालो गाग्री बोकेर खानेपानी ल्याउने बाध्यता हटेकाले गाउँमा सरसफाइमा समेत सुधार भएको छ ।  


खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाको करिब एक करोड रुपैयाँको लागतमा बनेको चुदौली योजनाबाट १२० घर परिवार लाभान्वित भएका छन् । करिब एक किलोमिटर तल खोलाबाट खानेपानी गाउँसम्म ल्याइएको हो । लिफ्ट खानेपानी योजनाबाट घरमा खानेपानी ल्याउँदा स्थानीय निकै खुसी देखिन्छन् ।


खानेपानी आएपछि घर परिवारमा सरसफाइ बढेको र योजना निर्माणमा गरेको दुःखसमेत भुलेको स्थानीय रीता पन्थीले बताइन् । डाँडाका टाकुरामा रहेको वस्तीमा खानेपानीको अभावले बसाइँसराइ गर्न थालेका बेला लुम्बिनी प्रदेश सरकारले योजना सञ्चालन गरेको हो । प्रदेश सरकारले दुई वर्षमा एक घर, एक धारा पुर्‍याउने लक्ष्य लिएको छ । एक ग्रागी पानी ल्याउन बिहान बिताउनुपर्ने स्थानीयलाई यसबाट ठूलो राहत भएको छ ।


खानेपानी आएपछि स्थानीयले तरकारी खेतीसमेत गर्न थालेका छन् । यसका लागि स्थानीयले २० प्रतिशत श्रमदान गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष निर्मला न्यौपानेले बताइन् ।


कोराना कहरले लकडाउन हुँदासमेत योजना निर्माणको काम गरेर घरमा खानेपानी ल्याएका हुन् । खानेपानीका लागि खर्चिने समय बचत भएकाले बालबालिकाको शिक्षामा समेत सुधार हुने अपेक्षा गरिएको छ ।