close

धवलागिरिलाई उज्यालो पालिका घोषणा गर्ने तयारी

धवलागिरिलाई उज्यालो पालिका घोषणा गर्ने तयारी

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको भौगोलिक रुपमा विकट धवलागिरि गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी भएको छ । केन्द्रीय प्रसारण लाइन, लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जामार्फत विद्युतीकरण गरेर उज्यालो पालिका घोषणा गर्न लागिएको हो । 

 

हालसम्म विद्युत् नपुगेको वडा-४ को मुदी र खाम्लामा केन्द्रीय प्रसारण लाइन पुगेपछि धौलागिरिलाई उज्यालो पालिका घोषणा गर्न सकिने अध्यक्ष थमसरा पुनले बताए ।


उज्यालो पालिका घोषणा गर्ने कार्यक्रमअनुसार केन्द्रीय लाइन विस्तार हुन नसक्ने र लघुजलविद्युत् परियोजनाको समेत सम्भावना नभएका घरधुरीमा प्रदेश सरकारले उपलब्ध गराएको सौर्य ऊर्जा वितरण गरिएको छ । 

 

१ सय २० घरलाई ५० वाट क्षमताको सौर्य ऊर्जा वितरण गरिएको अध्यक्ष पुनले जानकारी दिए । वडा-६ मराङका २५ र वडा- ४ को सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरुकोष र छहरीका ९५ घरलाई सोलार सेट वितरण गरिएको हो । ‘छुटेका घरधुरी पहिचान गरेर सोलार सेट उपलब्ध गराउनेछौं’, अध्यक्ष पुनले भने । 


२४ हजार पर्ने सोलार जडान गर्न उपभोक्ताले ४ हजार २ सय ७३ रुपैयाँ सहयोग गरेका छन् । प्रदेश सरकारले २० वाट क्षमताको सोलार वितरण गर्ने योजना बनाएपछि पालिकाहरूको सुझावका आधारमा ५० वाटको वितरण गरेको हो । 

 

उज्यालो पालिका घोषणा गर्न कुल घरधुरीको ८५ प्रतिशतमा केन्द्रीय, लघुजलजिद्युत् र सौर्य ऊर्जाको पहुँच हुनुपर्ने सरकारको मापदण्ड छ । वडा-७ ताकममा पूर्ण र वडा-६ मराङमा आंशिक रुपमा केन्द्रीय लाइन पुगेको छ । 

 

मराङ, मल्कवाङ, खिवाङ, मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया, गुर्जामा लघुजलविद्युत् परियोजनाको विद्युत् सुविधा छ । मुना, मुदी, खाम्ला, मराङ र मल्कवाङमा केन्द्रीय लाइन विस्तारको तयारीसमेत भएको छ । 

 

पालिकाले गत वर्ष लुलाङको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनर्निर्माण र बगरमा सौय ऊर्जा जडान गरेको थियो । चेचुङ गाउँमा पनि सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । ७ वडा रहेको धवलागिरिमा कुल ३ हजार १ सय २९ घरधुरीको बसोबास छ । 

 

कुल घरधुरीको ९० प्रतिशतमा कुनै न कुनै प्रकृतिको विद्युत् सुविधा पुगेको गाउँपालिकाले जनाएको छ ।